प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र संयुक्त अधिराज्य (बेलायत) को सर्वोच्च अदालतका प्रेसिडेन्ट लर्ड रिडबीच दुई देशका न्यायालयबीच सहकार्यका लागि पत्र आदान-प्रदान भएको छ।
बेलायतको राजधानी लन्डनस्थित सर्वोच्च अदालत भवनमा भएको दुई देशका न्यायालय प्रमुखबीचको औपचारिक भेटवार्तापछि उक्त पत्र आदानप्रदान भएको भ्रमण टोलीका सदस्य एवं उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलले जानकारी दिए।
भेटका अवसरमा दुई देशका न्यायिक प्रणाली र न्यायिक अभ्यासका सम्बन्धमा अनुभवहरूको आदान-प्रदान गर्नुका साथै दुवै देशका सर्वोच्च अदालतबीच आगामी दिनमा सद्भाव र सहयोगका लागि सद्भावपत्र आदानप्रदान गरिएको रावलले बताए।
भेटमा प्रधानन्याधीश नेतृत्वको भ्रमण दलका सदस्यहरू सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल, रजिस्ट्रार विमल पौडेल, विशेष अदालतका सदस्य रितेन्द्र थापा र उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलको उपस्थिति थियो।

यसैबीच प्रधानन्यायाधीश राउतबाट बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सभामुख, रोयल कोर्ट अफ जस्टिसका प्रधानन्यायाधीश, कमर्सियल कोर्टका न्यायाधीश, सोलिसिटर जनरलसँग पनि छुट्टाछुट्टै भेटवार्ता भएको रावलले उल्लेख गरेका छन्।
उनका अनुसार, त्यहाँका प्रसिद्ध प्राध्यापक, यूके सरकारका विशेष दूतसँग पनि छुट्टाछुट्टै भेटवार्ता सम्पन्न भएको छ। सबै भेटहरूमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमेरेको पनि उपस्थिति थियो।
बेलायती सर्वोच्च अदालतको औपचारिक निमन्त्रणामा प्रधानन्यायाधीश राउत नेतृत्वको प्रतिनिधिमण्डल आइतबार लन्डन प्रस्थान गरेको थियो।
Shares

प्रतिक्रिया