राजनीति


‘कोर टिम’ बनाएर छलफल गर्न प्रम ओलीको प्रस्ताव, माधव नेपाल सकारात्मक

‘कोर टिम’ बनाएर छलफल गर्न प्रम ओलीको प्रस्ताव, माधव नेपाल सकारात्मक

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १८:४९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेताहरूसँग ‘कोर टिम’ बनाएर छलफल गर्न प्रस्ताव गरेका छन्।

ज्ञापनपत्र बुझाउन गएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेका हुन्।

मुलुकमा देखापरेका विभिन्न समस्या समाधान र सरकारले ल्याउने नीति तथा कार्यक्रममा पार्टीका तर्फबाट सुझाव दिनका लागि एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले बुधबार दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको थियो।

प्रतिनिधिमण्डलमा अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव प्रकाश ज्वालालगायत १५ नेता थिए।

नेताहरूले दरबारिया र प्रतिगामी चलखेल बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए। पार्टीको तर्फबाट राखिएको ज्ञापनपत्र महासचिव घनश्याम भुसालले पढेर सुनाएका थिए भने पार्टीको तर्फबाट आधिकारिक धारणा राख्ने काम अध्यक्ष माधव नेपालले गरेका थिए।

एमालेबाट विभाजित भई बनेको पार्टी भए पनि एकीकृत समाजवादीका नेताहरूसँगको कुराकानीमा प्रधानमन्त्री ओली यसपटक विगतमा जस्तो असहज देखिएनन्।

‘नीति तथा कार्यक्रम र बजेटमा आफ्ना माग र सरोकार समावेश गर्न तपाईंहरू यसरी पार्टीबाट निर्णय नै गरेर आउनुभएको छ, तपाईंहरूको यो शैली निकै राम्रो लाग्यो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उपमहासचिव प्रकाश ज्वालाले भने, ‘प्रतिगामी चलखेलप्रति सरकार सचेत छ। उनीहरूको प्रयास सफल हुन दिइने छैन।’

एकीकृत समाजवादीको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री ओलीले झण्डै दुई घण्टा बिताएका थिए। ज्वालाका अनुसार, समय अभाव र प्रतिनिधिमण्डल पनि ठूलो भएकाले ओलीले अलि सानो टोली बनाएर छलफल गर्न अध्यक्ष माधव नेपालसँग प्रस्ताव गरेका थिए।

‘हाम्रा माग र अहिले देखिएका समस्याका सन्दर्भमा खुलेर कुराकानी भयो,’ उपमहासचिव ज्वालाले नेपालखबरसँग भने, ‘प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको हाम्रो प्रतिनिधिमण्डल ठूलो थियो, त्यसैले उहाँले अलिक सानो ‘कोर टिम’ बनाएर छलफल गरौँ भन्ने प्रस्ताव गर्नुभएको छ।’

उपमहासचिव ज्वालाका भनाइमा, कोर टिम बनाएर छलफल गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावप्रति अध्यक्ष नेपाल पनि सकारात्मक देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad