राजनीति


केपी ओली र विद्या भण्डारीबीच बिनाकुनै तनाव एमाले नेतृत्वको समस्या समाधान हुन्छ : योगेश भट्टराई (भिडिओ)

‘शेरबहादुर देउवाले जुन दिन भन्नुहुन्छ त्यो दिन गठबन्धन परिवर्तन हुन्छ, कसैले थामेर थामिँदैन’

अनिल यादव
बैशाख १४ , काठमाडौँ

एमाले वृत्तमा यतिखेर पूर्वराष्ट्रपति विद्या भण्डारी दुई वर्षे ‘कुलिङ पिरियड’पछि राजनीतिमा फर्कने चर्चा चुलिएको छ। दुई साताअघि नेपालखबरसँगको विशेष कुराकानीमा भण्डारीले खुलेरै भनिन्– ‘एमालेको भावी नेतृत्वमा मेरो नाम आइरहेको छ, कार्यकर्ताको सम्मान अनुसार म रेडी छु।’

अनि के भण्डारीलाई एमालेको नेतृत्वमा स्वागत गर्न एमाले पंक्ति ‘रेडी’ हुँदै गएको हो त? 

एमाले सचिव योगेश भट्टराई बाहिर जेजस्ता चर्चा भए पनि पार्टीका वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच कुनै तनावबिना नेतृत्वको विषय समाधान हुने बताउँछन्।

‘एमालेमा यो बहस गर्ने बेला भएको छैन। जुन दिन औपचारिक रूपमा प्रवेश हुन्छ, त्यो दिन हामी धारणा बनाउँछौँ,’ नेपालखबर ‘तत्कालै’मा आइतबार भट्टराईले विद्या भण्डारीले एमालेको नेतृत्व लिने सम्भावनाबारे भने, ‘अहिले बाहिरबाहिर चर्चा भएका छन्। बाहिरबाहिर चर्चा भएको आधारमा यो हो या यो होइन, यो हुन्छ या हुन्न भन्ने धारणा बनाउनुहुन्न। तर तपाईंलाई म यत्ति कुरा बताउँछु, हाम्रो पार्टीमा वर्तमान अध्यक्ष र पूर्वराष्ट्रपतिको बीचमा कुनै तनावविना यो समस्याको हल हुन्छ।’

गत मंगलबार प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा अझै २०–२५ वर्ष आफू पार्टी राजनीतिमा सक्रिय हुने संकेत गरे। पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कने चर्चा चलिरहँदा उनले खुलेरै भने– ‘म बुढो भएको छैन, २०–२५ वर्षपछि बुढो हुन्छु, मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन।’

हामीले एमाले सचिव भट्टराईलाई सोध्यौँ– त्यसोहुँदा त तपाईंहरूको पालो कहिले आउने होला त?

‘भनेको सबै कुराको टिप्पणी गर्दै हिँड्नु हुन्न,’ जवाफमा भट्टराईले भने, ‘कुन सन्दर्भमा भनेको हुन्छ, त्यो भोलि बदलिन्छ। सधैँ त्यो परिस्थिति कायम नहुन सक्छ। त्यो बेला भनेको कुरालाई अर्को परिस्थितिको आधारमा टिप्पणी गर्नुहुँदैन। एमाले महाधिवेशन आउँदैछ। आएपछि नेतृत्वको चर्चा परिचर्चा हुन्छ। त्यतिबेला दाबी प्रस्तुत हुन्छ। त्यतिबेला हामी धेरै कुरा गरिहाल्छौँ नि।’

लगत्तै उनले थपे, ‘अहिले नै एमालेभित्र यस्तो (नेतृत्वको विषय) प्रवेश गरेर पार्टीलाई अस्थिर, तरंगित बनाउने र विषयान्तर गर्ने गर्नुहुन्न। सबैको के–के तयारी छ, आफ्नो हिसाबले गर्दैगर्दा भयो। पार्टीले वैधानिक तरिकाले नै आआफ्नो दाबी प्रस्तुत गर्ने प्लाटफार्म दिन्छ।’

हामीले फेरि सोध्यौँ– अहिले विद्या भण्डारी, विद्या भट्टराई र विन्दा पाण्डे एमालेमा अध्यक्ष केपी ओलीको टाउको दुखाइ बनेका हुन्?

जवाफमा उनले पार्टी नेतृत्व र नेताहरू सबैले संयम अपनाउनुपर्ने बताए। 

‘किन टाउको दुखाउनुपर्ने?’ भट्टराईले भने, ‘ठूलो पार्टीमा कतिपय टिप्पणी हुन्छ। नेतृत्व पनि आक्रोशित भएर बोल्नुहुन्न, पार्टी नेताहरूले परिस्थितिको गम्भीरतालाई बुझेर कतिपय कुरामा संयम पनि अपनाउनुपर्छ।’

अहिले सत्तारुढ दल कांग्रेसकै महामन्त्रीद्वयसहित नेताहरूले सरकारको कडा आलोचना गरिरहेका छन्। उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढल्ने र नयाँ समीकरण बन्ने टिप्पणी गरिरहेका छन्। अंकगणितमा बलियो भए पनि यो सरकार नाजुक अवस्थामा पुगेकै हो त? 

एमाले सचिव भट्टराईले एमाले र नेपाली कांग्रेसको नेतृत्वकर्ता ओली–देउवा मिल्दासम्म यो सरकार कसैले आलोचना गरेकै भरमा नढल्ने बताए।

‘वस्तुगत हिसाबले स्पष्ट पार्दा जुन दिन शेरबहादुर देउवाले गठबन्धन परिवर्तन हुन्छ भन्नुहुन्छ, त्यो दिन परिवर्तन हुन्छ, त्यो दिन कसैले थामेर थामिँदैन,’ भट्टराई भन्छन्, ‘जुन दिन केपी ओलीले कांग्रेससँग बस्न सकिँदैन भनेर राजीनामा दिनुहुन्छ या अर्को गठबन्धन बनाउनुहुन्छ, त्यो दिन गठबन्धन भत्किन्छ। मलाईं चाहिँ यो सरकार ०८४ सम्म जान्छ भन्ने लाग्छ। अरुले बोलेर केही अर्थ हुँदैन।’

दुई ठूला दलको गठबन्धन बनेकाले असहजता प्रकट हुनुलाई उनी स्वाभाविक मान्छन्। 

‘असहजता प्रकट हुनु स्वाभविक हो,’ भट्टराईले भने, ‘कांग्रेसका साथीहरूलाई कतिपय असहजता छ। एमालेका साथीहरूलाई कतिपय असहजता छ। आजको दिनमा असहजताका कारणले गठबन्धन टुट्ने कुरा प्रमुख हो कि असहजतालाई व्यवस्थापन गर्दै कायम राख्ने कुरा प्रधान हो भनेर मलाई सोध्नुहुन्छ भने म चाहिँ दोस्रो कुरा प्रधान हो भन्छु। असहजताका कुरालाई प्रमुख नेताहरूले व्यवस्थापन गर्ने र गठबन्धन कायम राख्दै आगामी चुनावसम्म जाने। यो हो हाम्रो रोडम्याप।’

पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको आरोप आफूमाथि लगाउनेहरूले नै भ्रष्टाचार गरेको र त्यसको प्रमाण सार्वजनिक गर्ने घोषणा गरेका भट्टराईलाई हामीले सोध्यौँ– तपाईंसँग के छ प्रमाण त्यस्तो? 

हेर्नुहोस्, विद्या भण्डारीलाई एमाले नेतृत्वमा स्वागत गर्ने विषय, एमाले–कांग्रेस गठबन्धन सरकारको निरन्तरता, विमानस्थल प्रकरण, शिक्षक आन्दोलन, शिक्षामन्त्रीको राजीनामा, भीम रावलसँगको सुलह लगायत विषयमा एमाले सचिव योगेश भट्टराईसँग गरिएको नेपालखबर ‘तत्कालै’ :

तस्बिर/भिडिओ: सौगात दाहाल

बैशाख १४, २०८२ आइतबार २२:१८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad