राजनीति


गगन थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही माग, सर्वोच्चमा निवेदन

गगन थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही माग, सर्वोच्चमा निवेदन

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १९:१७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा सर्वोच्च अदालतमा निवेदन पेस भएको छ।

थापाले बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा सर्वोच्च अदालतले ‘डिल गरिरहेको छ, हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

उनको यो अभिव्यक्ति स्वतन्त्र न्यायपालिकाको गरिमा र आस्थामा आघात पार्ने खालको रहेको भन्दै अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले कारबाहीको मागसहित शुक्रबार निवेदन पेस गरेका हुन्। 

सर्वोच्च अदालतका एक अधिकारीले निवेदन दर्ता हुने वा नहुनेबारे आइतबार मात्रै टुंगो लाग्ने बताए।  

के भनेका थिए थापाले?
थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले 'डिल' गरिरहेको आरोप लगाएका थिए। 

बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भनेका थिए, 'अहिले सम्मानीत अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयलाई दुई-तीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ। कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई-नभ्याई भन्छ। कहिले भोलि हेर्ने भन्छ। त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ।'  

थापाले विवादित संवैधानिक नियुक्ति भएका आयोगका पदाधिकारीको कार्यावधि सकिन लागे पनि अल्झाएर राखेकोमा आपत्ति जनाएका थिए। 

'एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरूको कार्यावधि सकिन लागिसक्यो। अब त्यो ठिक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतलाई चाहिँ चार वर्ष समय लाग्छ?' उनले भनेका थिए, ' त्यो पनि आइतबार हेरौँ, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ। अदालतले डिल गर्‍यो अब त्यसको विश्वसनीयता के रहन्छ?'

लोकतन्त्रमा अख्तियार, अदालत, संसद्‌ र पार्टीमाथि जनता संशय हुनु ठूलो समस्या भएको थापाको भनाइ थियो। 'हाम्रो डेमोक्रेसीको समस्या अख्तियार, अदालत, संसद, पार्टीमाथि जनतामा संशय धेरै हुनु हो,' उनले भनेका थिए, 'अविश्वासहरू धेरै छ। यो नै लोकतन्त्रको अहिले प्रमुख चुनौती हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad