नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको आरोप लगाएका छन्।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन्।
‘अहिले सम्मानीत अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयलाई दुई-तीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ। कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई-नभ्याई भन्छ। कहिले भोलि हेर्ने भन्छ। त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ,' उनले भने।
थापाले विवादित संवैधानिक नियुक्ति भएका आयोगका पदाधिकारीको कार्यावधि सकिन लागे पनि अल्झाएर राखेकोमा आपत्ति जनाए।
'एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरूको कार्यावधि सकिन लागिसक्यो। अब त्यो ठिक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतलाई चाहिँ चार वर्ष समय लाग्छ?' उनले भने, ' त्यो पनि आइतबार हेरौँ, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ। अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ?'
लोकतन्त्रमा अख्तियार, अदालत, संसद् र पार्टीमाथि जनता संशय हुनु ठूलो समस्या भएको थापाको भनाइ छ।
'हाम्रो डेमोक्रेसीको समस्या अख्तियार, अदालत, संसद, पार्टीमाथि जनतामा संशय धेरै हुनु हो,' उनले भने, 'अविश्वासहरू धेरै छ। यो नै लोकतन्त्रको अहिले प्रमुख चुनौती हो।’
Shares

प्रतिक्रिया