राजनीति


पछि हट्ने मुडमा ज्ञानेन्द्र, यो हिउँदलाई निर्णायक बनाउने योजना असफल

पछि हट्ने मुडमा ज्ञानेन्द्र, यो हिउँदलाई निर्णायक बनाउने योजना असफल

सीताराम बराल
बैशाख १०, २०८२ बुधबार १९:१२, काठमाडौँ

‘कू’ मार्फत् भएका सत्ताकब्जा बाहेक नेपालमा राजनीतिक परिवर्तनका जे जति घटना भएका छन्, तिनमा हिउँद आसपासका दिनहरू निर्णायक बनेका छन्।  

गणतन्त्र स्थापनाको निर्णायक प्रस्थानविन्दु बनेको २०६२–०६३ को संयुक्त जनआन्दोलनको कुरा गरौँ वा बहुदलीय व्यवस्था पुनर्स्थापना गरेको २०४६ को संयुक्त जनआन्दोलनको– दुवै आन्दोलनको सुरुवातविन्दु हिउँदका महिना थिए। हिउँदको अन्त्य हुँदानहुँदै ती आन्दोलनले सफलता प्राप्त गरेका थिए। 

त्यसमध्ये ७ फागुनबाट सुरु भएको २०४६ को जनआन्दोलनले चैत्रको अन्त्यमा सफलता प्राप्त गरेको थियो। २६ चैत्र २०४६ मा राजा वीरेन्द्र पञ्चायती संविधानमा रहेका निर्दलीय शब्द हटाएर बहुदलीय व्यवस्था पुनर्स्थापना गर्न बाध्य भएका थिए। 

सशस्त्र विद्रोहरत माओवादी र संसदवादी राजनीतिक दलहरूको संयुक्त आन्दोलनयात्रा २०६२ मंसिरमा भएको सात बुँदे सहमतिसँगै सुरु भयो। फागुन–चैत्रदेखि आन्दोलनले लय समात्दै अघि बढेर त्यसले ११ वैशाख (२०६३) मा राजा ज्ञानेन्द्रलाई झुकाउन बाध्य बनाएको थियो। 

नारायणहिटी पुगेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई उचालेर विघटनको सिफारिस गर्न लगाएका राजा ज्ञानेन्द्रले ८ जेठ २०५९ मा देउवाको सिफारिसपछि प्रतिनिधि सभा विघटन गरेका थिए। तर, २०६२–०६३ को आन्दोलनका कारण ११ वैशाख (२०६३) प्रतिनिधिसभा पुनर्स्थापना गर्न बाध्य भएपछि उनको ओरालो यात्रा सुरु भयो। 

सुरुमा उनी हैसियतविहीन राजाका रूपमा नारायणहिटीमा सीमित रहे। दलहरूबीचको खिचातानीका कारण संविधान सभा चुनाव हुनेमा आशंका बढ्न थालेसँगै उनको चलखेल सुरु भएपछि २०६३ को अन्त्यताका राजसंस्था नै निलम्बनमा पर्‍यो। 

संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले औपचारिक रूपमा गणतन्त्रको घोषणा गर्‍यो भने २०७२ असोज २ मा संविधान सभाबाट जारी संविधानले गणतन्त्रलाई संस्थागत   गर्‍यो। 

हिउँदको यही ऐतिहासिक विरासत पूर्वराजा ज्ञानेन्द्र शाह र उनका अनुयायीहरू यसवर्ष (२०८१) मा ब्युँताउन चाहन्थे। त्यसैले, ७ फागुनको सन्देशमार्फत् शाहले आफूलाई साथ दिन जनतालाई अपिल गरे। उनको सन्देशमा राजसंस्था फर्काउने शब्दावलीको प्रयोग नभए पनि प्रष्ट संकेत भने थियो।  

७ फागुनको उपरोक्त सन्देश पनि प्रतीकात्मक दिन पारेर जारी गरिएको थियो। २००७ मा फागुन ७ कै दिन हो, क्रान्तिअघि ‘खोपीको देउता’ रहेका राजा श्री ५ त्रिभुवनले राणा शासनको विधिवत अन्त्यको घोषणा गरेको पनि।  

पूर्वराजा शाहको ७ फागुनको अपिलपछि नै राजावादी पार्टी र संघ–संगठनहरू संयुक्त रूपमा प्रदर्शनमा उत्रिन थालेका हुन्। त्यसअघि उनीहरू छुट्टाछुट्टै प्रदर्शन गर्थे। 

यस्ता प्रदर्शनमा मान्छे धेरै देखाउने होडबाजी भने गणतन्त्रवादी–लोकतन्त्रवादीहरूमाथि चुनौती दिनुभन्दा एक राजावादी समूहले अर्काे राजावादी समूहलाई आफू शक्तिशाली छु भन्ने देखाउनका लागि हुन्थ्यो। 

पूर्वराजा शाहको ७ फागुनको सन्देशले सबै राजावादी समूहलाई एकै छातामुनि आउन बाध्य पार्‍यो। आपसी ईर्ष्या र तिक्त सम्बन्धका बाबजुद ज्ञानेन्द्रको अपिलपछि त्रिभुवन विमानस्थल (२५ फागुन) देखि तीनकुने–कोटेश्वर (१५ चैत्र) सम्म एकै मोर्चामा  रहे।  

तर, ११ वैशाखसम्म आइपुग्दा यसपटकको हिउँद (२०८१) लाई राजतन्त्र पुनर्स्थपनाका लागि निर्णायक बनाउने योजना असफल भएको छ। १५ चैत्रयता राप्रपाले आयोजना गरेका दुई प्रदर्शनहरू ‘असफल’ भन्न सकिने गरी फितला भएका छन्। 

त्यसपछि पूर्वराजा शाह पनि अब अघि बढ्नेभन्दा पछि हट्ने मुडमा रहेजस्ता देखिन्छन्। ७ फागुनमा आफूलाई साथ दिन आग्रह गरेका उनको पछिल्लो निष्क्रियता र ‘फेस सेभिङ’ जस्ता लाग्ने अभिव्यक्तिले यस्तै कुराको संकेत गर्छन्।  

७ फागुनमा पोखराबाट आफूलाई साथ दिन अपिल गरेका पूर्वराजा शाहले २५ फागुनमा त्रिभुवन विमानस्थलबाट निस्कँदा राजावादीहरूको संयुक्त स्वागत स्वीकार गरेर आफू निर्णायक रूपमा अघि बढेको सन्देश दिएका थिए। 

विमानस्थलमा राजावादीहरूबाट उनले जस्तो स्वागत पाए, उनलाई लाग्यो– अब गद्दीमा फर्कने दिन धेरै टाढा छैन। त्यसैले, ८ चैत्रमा उनी पुर्ख्यौली थलो गोरखा पुगे, गोरखनाथ  मन्दिरमा पूजाआजा गरे। १० चैत्रमा मनकामना पुगे। 

काठमाडौँ फर्कंदा गोरखा–धादिङ–नुवाकोट मार्ग प्रयोग गरे। 

धार्मिक र ऐतिहासिक सन्दर्भ केलाएर हेर्ने हो भने उनको गोरखा भ्रमण पनि राजतन्त्र पुनर्स्थापनासँग नै सम्बन्धित थिए। मनकामना माई त मनोकांक्षा पूरा गरिदिने देवी भइहालिन्, शाह राजवंशका लागि गोरखनाथ राजाहरूको राजपाठ सञ्चालनमा दैवी शक्ति प्रदान गर्ने देवता थिए।

जहाँसम्म काठमाडौँ फर्कन उनले प्रयोग गरेको गोरखा–धादिङ–नुवाकोटको बाटो हो, यो गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमाथि धावा बोल्ने क्रममा प्रयोग गरेको मार्ग थियो। 

सुरुमा धादिङ–नुवाकोटमाथि कब्जा जमाए। त्यसपछि काठमाडौँमाथि धावा बोलेका थिए। यसैवर्ष गद्दीमा फर्किने विश्वासकै कारण गोरखाबाट काठमाडौँ फर्कन यही मार्ग छनोट गरे।  

उनले सोचेजस्तो (गद्दीमा फर्कने) स्थिति त थिएन। तर, नियमित रूपमा मठमन्दिर र देवालय धाइरहेका हुने थिए। माइतीघर–बबरमहल क्षेत्रमा आन्दोलनरत शिक्षकहरूको होइन, राजावादीहरूको सभा–जुलुसको दृश्य देखिने सम्भावना बढी थियो। 

विभिन्न जिल्लाको भ्रमणमा जाने क्रम पनि बढ्ने थियो, ताकि २५ फागुनमा पोखराबाट काठमाडौँ फर्कंदाबेला झैँ भव्य स्वागत खान पाइयोस्। 

तर, यी सम्भावित दृश्यहरूलाई १५ चैत्रले तुहाइदिएको छ। तीनकुने कार्यक्रमका आयोजक नवराज सुवेदीलाई त्यहाँ मच्चाइएको हिंसाका कारण सरकारले तीन हप्ता नजरबन्दमा राखेको थियो, पूर्वराजा शाह भने आफै ‘स्व–नजरबन्द’ मा रहनु परेको छ। राप्रपा पनि काठमाडौँका आफ्ना सबै कार्यकर्ता–समर्थकलाई समेत प्रदर्शनमा उतार्न नसक्ने गरी थला परेको छ।  

राप्रपा खासमा ‘प्रजा’ हरूको राजनीतिक समूह हो। आफ्ना ‘प्रजा’ हरूको समूहसँग समेत खुसामद गर्नुपर्ने र झुटो बोल्नुपर्ने स्थितिमा पूर्वराजा शाह पुगेका छन्। 

जस्तो कि, ५ वैशाखमा उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत सात राप्रपा नेताहरूलाई निर्मल निवासमा ‘लन्च मिटिङ’ मा बोलाए। त्यसक्रममा उनले ‘नवराज सुवेदीलाई राजतन्त्र फर्काउने अभियानको नेतृत्व मैले दिएको होइन’ भन्ने प्रष्टीकरण दिए। 

दुर्गा प्रसाईंका सन्दर्भमा उनले जे प्रष्टीकरण दिए, त्यसले उनको कुरा झुटो थियो भन्ने प्रष्ट पार्छ। ‘निर्मल निवासमा प्रसाईंसँग मैले होइन, अरु कुनै कर्मचारीले भेटे होलान्’ भन्ने उनको प्रष्टीकरण थियो। ‘निर्मल निवासको ढोका दुर्गा प्रसाईंका लागि सहजै खुल्दो रहेछ,’ भन्ने प्रष्ट भइहाल्यो, ‘कर्मचारीले भेटे होलान्’ भन्ने प्रष्टीकरण चाहिँ ‘फेस सेभिङ’ का लागि थियो। 

११ वैशाख (२०६३) उनको निर्णायक पतन सुरुवात भएको दिन थियो। १८ वर्षपछि त्यो परिस्थिति उल्टाएर गद्दीमा फर्कने सपनामा उनी थिए। 

तर, ११ वैशाखसम्म आइपुग्दा पूर्वराजा शाहको त्यो सपनाको दुखान्त भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad