माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्ने बताएका छन्।
लेनिन जन्मजयन्ती तथा नेकपा स्थापना दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पूँजीवादले असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट मात्रै निम्त्याइरहेको आरोपसमेत लगाएका छन्।
उनले मानव सभ्यताको इतिहासमै लेनिनको नेतृत्वमा पहिलोपटक श्रमजीवी वर्गको समाजवादी राज्यसत्ता स्थापना भएको तर्क गरेका छन्। लेनिनले शोषणमुक्त र न्यायपूर्ण समाज सम्भव छ भन्ने तथ्यलाई प्रमाणित गर्दै क्रान्तिको मार्क्सवादी सिद्धान्तको विकास गरेको स्मरण पनि प्रचण्डले गरेका छन्।
‘पूँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेको आजको विश्वमा लेनिनको विचार र उहाँले देखाएको बाटो अझ सान्दर्भिक र आवश्यक बनेको छ,’ प्रचण्डले भनेका छन्, ‘मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको छ।’
सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवाद स्थापनाको लक्ष्य राखेर नेपालमा वि.सं. २००६ साल (१९४९ अप्रिल २२) मा लेनिन जयन्तीको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। सोही दिनको सम्झनामा आज नेपालका विभिन्न कम्युनिस्ट घटकले विभिन्न कार्यक्रम गर्दैछन्।
‘कम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भई उत्पीडित जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज हामी सामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य गर्दै समावेशी, धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएका छौँ,’ प्रचण्डले भनेका छन्, ‘यतिखेर एक थरी प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धि खोसेर नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गर्दैछन्। तर, यो उनीहरूको दिवास्वप्न मात्रै हो, किनभने संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताले युगौँदेखि साँच्दै आएका सपना हुन्, जसको रक्षा र थप विकासबाट मात्रै हाम्रासामु देखिएका चुनौतीको सामना गर्दै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिन्छ। परिवर्तनका पक्षधरहरूका लागि यो नै आजको प्रमुख राष्ट्रिय जिम्मेवारी समेत बनेको छ।’
उनले लेनिन जयन्तीका अवसरमा सम्पूर्ण पार्टी कार्यकर्ता, शुभेच्छुक र न्यायप्रेमी जनतासँग इतिहासलाई लेनिनको विचार एवं नेपाली जनताको त्याग, बलिदानको सम्मान र प्राप्त उपलब्धिको रक्षा र विकासमार्फत समाजवादको यात्रामा एकजुट भई अघि बढ्न पनि अपिल गरेका छन्।

Shares

प्रतिक्रिया