राजनीति


ज्ञानेन्द्रसँगको भेटपछि राप्रपा नेताहरूको विश्वास- राजावादीको नेतृत्व पाइयो

ज्ञानेन्द्रसँगको भेटपछि राप्रपा नेताहरूको विश्वास- राजावादीको नेतृत्व पाइयो

सागर न्यौपाने
बैशाख ८, २०८२ सोमबार ०:१७, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेपछि राप्रपाका नेताहरू उत्साहित छन्।

वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा प्रहरी हिरासतमा रहेकै बेला अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ नेता शुक्रबार निर्मल निवास पुगेका थिए।

अध्यक्ष लिङ्देनका अलावा पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र प्रवक्ता ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए।

११ बजेदेखि १ बजेसम्म शाहसँग दिवाभोजसँगै छलफल भएको राप्रपाका उपाध्यक्ष एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङ बताउँछन्।

भेटमा शाहले अब पूर्वराजावादीलाई एकीकृत गर्न लिङ्देनलाई सुझाव दिएको उनले बताए।

नवराज सुवेदीलाई संयुक्त जनआन्दोलन समितिको संयोजक बनाएको भन्दै असन्तुष्ट रहेका लिङ्देन पूर्वराजालाई भेटेपछि खुसी छन्। अब उनी फरक खालको आन्दोलन गरेर ज्ञानेन्द्रको विश्वास जित्ने योजनामा छन्।

सामूहिक भेट भएकोले ज्ञानेन्द्र शाहसँग धेरै रणनीतिक महत्त्वका कुरा भने हुन नपाएको तामाङको भनाइ छ। 

यद्यपि, अध्यक्ष लिङ्देन भने अब राजावादीलाई एकै ठाउँमा उभ्याउने योजनामा छन्।

‘ज्ञानेन्द्र शाहले प्रष्ट शब्दमा नवराज सुवेदीलाई आफूले संयोजक नबनाएको र दुर्गा प्रसाईँलाई भेटेकै छैन भन्नुभएको छ,’ तामाङले भने, ‘अब जनभावनाको नेतृत्व राप्रपाले गर्नुपर्छ। आन्दोलनको होइन कि, जनभावनाको। म जहाँ पुगेको छु, जनतामा परिवर्तनको भावना पाएको छु। त्यसलाई राजनीतिक रुपमा नेतृत्व राप्रपाले गर्नुपर्छ। राजेन्द्र, सबैलाई समेट भन्नुभएको छ।’

निर्मल निवासको सबैभन्दा नजिक हुन सकिएको विश्वासमा लिङ्देन देखिन्छन्। 

‘राप्रपाले यसको नेतृत्व लियो, अब क्रमिक रुपले विकास गर्दै आन्दोलनलाई उचाइ दिँदै लैजान्छौँ,’ अर्का नेताले भने।  

प्रहरीले असफल पार्‍यो राप्रपाको योजना
निर्मल निवासको भेटबाट उत्साहित भएर निस्किएका राप्रपा नेताहरुले आइतबार काठमाडौँको निषेधित क्षेत्र तोड्ने कार्यक्रम घोषणा गरेका थिए।

आइतबार काठमाडौँमा राप्रपाले फरक खालको प्रदर्शन योजना बनाएको थियो। सरकारले निषेधित क्षेत्र तोकेका पाँच स्थानमध्ये नयाँ बानेश्वरसहित तीन ठाउँमा प्रदर्शन गर्ने उसको योजना थियो।

तर, सरकारले सुरक्षा व्यवस्था कडा बनाएपछि उसले सो आँट गरेन। 

बिजुलीबजार क्षेत्रबाट नयाँ बानेश्वरतर्फ अगाडि बढ्न खोजे पनि उनीहरू सफल भएनन्। अध्यक्ष लिङ्देनसहितका प्रभावशाली नेता नै त्यहाँ पुगेनन्। निकै नगन्य सहभागी थिए, जसले सुरक्षा घेरा तोड्ने हिम्मत गर्न सकेनन्। 

लिङ्देन, तामाङ, ज्ञानबहादुर शाही, दीपकबहादुर सिंह र विनु लामा लगायतका नेता सिंहदरबारस्थित दलको कार्यालयमा गए। त्यहीँबाट गिरफ्तारी दिने उनीहरूले योजना बनाए। ‘ताकि, निर्मल निवासको आँखा परोस्,’ अर्का नेताले भने, ‘हामीले हाम्रो कुरा सुन्ने बनाउन, राज्यलाई बढी फोकस गर्न निषेधित क्षेत्रमा कार्यक्रम राखेका हौँ।’

तर, राप्रपाले प्रदर्शन नथाल्दै प्रहरीले योजना तुहाइदियो।  

सरकारले पाँचवटै निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिदियो। जसले गर्दा बानेश्वर, सिंहदरबार अगाडि भद्रकाली र प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्न सकेन। 

सुरक्षाकर्मी व्यापक तैनाथ भएपछि प्रदर्शनको मोडेल बदल्नुपरेको ती नेताले प्रस्ट्याए। 

‘एक कार्यक्रम सफल बनाउनुपर्नेछ। शान्तिपूर्ण गर्नु छ, कार्यकर्तालाई कुटाइ खुवाएर पनि भएन। अनि हामीले बानेश्वरलाई एकत्रित गर्‍यौँ। त्यहाँ तोडेको भए हिंसात्मक हुन जान्थ्यो,’ उनले थपे, ‘अनि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर के निर्णय गर्‍यौँ भने, सिंहदरबारभित्रै प्रदर्शन गर्ने। त्यहीँ प्ले कार्ड देखाउने, नारा लगाउने र गिरफ्तारी दिने। सोही अनुसार गरियो।’

केही घण्टा पछि प्रहरीले लिङ्देनसहित सबै पक्राउ परेका नेता छोडिदियो। 

रिहा भएपछि लिङ्देनले आन्दोलन निरन्तर रहने चेतावनी दिएका छन्। 

त्यसो त, यसअघि पनि राप्रपाका नेताले रवीन्द्र मिश्र र धवलशम्शेर राणाको रिहाइको माग गरी सामूहिक गिरफ्तारी दिने योजना बनाएको थियो। तर, रोकिए।

किनकि, चैत १५ गते तीनकुनेको ध्वंसात्मक घटनामा उनीहरू दुवै सक्रिय भएका थिए। दुई जनाको ज्यान जाने गरी भएको उक्त घटनाले राजावादीलाई ठूलो क्षति पुर्‍याएको राप्रपाको विश्लेषण छ।

ज्ञानेन्द्र शाहले पनि राप्रपालाई शान्तिपूर्ण र जनताको मन जित्ने कार्यक्रम बनाउन सुझाव दिएको नेताहरूको भनाइ छ।  

मिश्र र राणाले लिङ्देनलाई पारेको आपत् 
राप्रपाले मिश्र र राणालाई फेरि पार्टीमा फर्कन अप्ठेरो सर्तबारे स्मरण गराएको छ।

गत पुसमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय अनुसार ती दुई नेताको कुनै एउटा जिम्मेवारी स्वतः जाने देखिन्छ।

तीनकुनेमा चैत १५ गते राखेको कार्यक्रमलाई नवराज सुवेदीले ग्रहण गर्दै दुर्गा प्रसाईँलाई जनकमान्डर घोषणा गरेका थिए। सो कार्यक्रममा राप्रपा, राप्रपा नेपाललगायत राजावादी दल तथा संघसंस्थाले समर्थन जनाए।

तर, प्रदर्शन हिंसात्मक भयो। उदण्ड जत्थाले निजी घर, व्यापारिक प्रतिष्ठान, सरकारी सवारी साधनमा आगजनी गरे। करोडौँको क्षति भयो। राप्रपाका नेताहरूका अनुसार सो कार्यक्रमलाई बाहिरैबाट समर्थन गर्ने सल्लाह भएको थियो। तर, रवीन्द्र र धवलशम्शेरले मानेनन्।

‘आन्दोलनको कुरा गर्ने, निर्णायक आन्लोदनतर्फ अघि बढ्न नचाहने? भन्दै उहाँहरूले अध्यक्षज्यूलाई फरक व्यवहार गर्नुभयो,’ एक नेताले भने, ‘हाम्रो आन्दोलन होइन भनेर अध्यक्षज्यू जानुभएन, अरू पनि केही नेता जानुभएन।’ 

आफूहरू संसदको पाँचौँ दल भएकोले कतिपय कुरा ख्याल गर्नुपर्ने लिङ्देनले बताएका पनि हुन्। तर, आफ्नै विरुद्ध गलत भाष्य बनाउने संकेत पाएर उनी नयाँ रणनीति बनाउनतिर लागे। 

‘तीनकुने घटनालगत्तै हामीले पनि आन्दोलन घोषणा गर्‍यौँ र त्यो मूल समितिले गर्ने,’ एक पदाधिकारीले भने, ‘आन्दोलनको कमान्ड धवलजीबाट अध्यक्ष राजेन्द्रज्यूले आफ्नो हातमा लिनुभयो।’

रवीन्द्र र धवल पक्राउ परेपछि बल्खुमा चैत २६ गते गरेको कार्यक्रम सफल भएको सन्देश सबैतिर गएको ती पदाधिकारी बताउँछन्।
त्यसपछि आइतबार राप्रपाले निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेको हो।

धेरैलाई खबर नगरेकोले संख्या नगन्य सहभागी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ दाबी गर्छन्।

‘अध्यक्षज्यूले पनि नेताहरू मात्र सहभागी हुने भन्नुभयो र अरूलाई खबर गरिएको थिएन,’ उनले भने, ‘बालुवाटार, भद्रकालीमै साथीहरू थुनिनुभएछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad