नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीले अब समस्या देखाएर मात्र नहुने भन्दै समाधान दिनसक्नुपर्ने बताएका छन्।
शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्वारा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको बताए।
उनले नेपाली कांग्रेस पार्टीले नेपालमा रहेको रोजगारीको समस्याको समाधान दिनसक्नुपर्ने भन्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुनुपर्ने बताए।
मुलुकमा विद्यमान समस्याका सम्बन्धमा पार्टीले रुवाबासी गर्ने नभई समाधान दिनेगरी पार्टीको कार्यशैली र दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनको भनाई छ।
उनले भने, ‘कांग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन। कांग्रेस पार्टीले अब समाधान पनि दिनुपर्छ। हामी समाधान दिने पार्टी हो। हाम्रो ड्युटी हो यो। नेपाली कांग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ समाधान दिने हो। वैदेशिक रोजगारीको क्षेत्रलाई थप राम्रो बनाउने हो। अब पार्टीको काम गर्ने तरिका पनि बदलिनुपर्छ। पार्टीको दृष्टिकोण पनि बदलिनुपर्छ। अब हामीले गनगन गर्ने पनि होइन रुवाबासी गर्ने पनि होइन। अब समस्या भएको क्षेत्रमा कांग्रेस छ र समाधान दिन्छ भन्ने पार्टी बनाएर जान आवश्यक छ।’
उनले वैदेशिक रोजगारीमा देखिएका समस्याहरूको समाधान गर्नको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर उक्त अभियान सञ्चालन गरेको दाबी गरे।
उनले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुने बताए। उनले वैदेशिक रोजगारीमा कस्ता मान्छेहरू गइरहेका छन् भन्नेबारे विश्लेषण गर्न एसोसिएसनसँग सहकार्य गर्न चाहेको पनि बताए।
महामन्त्री थापाले भने, ‘वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कारीको क्षेत्र, गालीको क्षेत्र होइन हामी सँगसँगै बसेर कस्ता मान्छे काम गर्न गएका छन्? किन गएका छन्? को जाने को नजाने भन्नेबारेमा ज्ञान उत्पादन गर्ने ठाउँमा हामी तपाईंहरूसँग बसेर काम गर्न चाहन्छौँ। किन कि यो विषयको हल हामीले खोज्नुपर्नेछ।’
नेपाली कांग्रेसले आन्तरिक एवं वैदेशिक रोजगारीको सम्बन्धमा चिन्तन गरिरहेकोले छिट्टै समाधान दिने विश्वास व्यक्त गरे।
Shares

प्रतिक्रिया