स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले कांग्रेस–एमाले गठबन्धनको सरकार ०८४ सम्म नटिक्ने बताएका छन्। त्यहीकारण कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य सँगसँगै राजनीतिक उपचारका लागि आगामी साता थाइल्यान्डस्थित ब्यांकक भ्रमणमा जान लागेको सिंहको दाबी छ।
‘यो गठबन्धनको सरकार ०८४ सम्म त जाँदैजाँदैन,’ नेपालखबर ‘तत्कालै’मा सिंहले बिहीबार भने, ‘देशको नियति नै यस्तो छ कि कुनै पनि सरकार लामो जाँदैन। हिजै गभर्नरको कुरा नमिलेको भए सरकार ढलिसक्थ्यो।’
‘शेरबहादुर देउवा शारीरिक सँगसँगै राजनीतिक उपचारका लागि ब्यांकक जाँदैछन्। त्यहाँ विदेशीहरूसँग भेटघाट हुन्छ,’ सिंहले थपे, ‘अहिले देउवाको पार्टीमा पकड छैन। पार्टीभित्र शेखर कोइराला र दुईजनै महामन्त्री पक्षमा छैनन्। श्रीमती आरजु देउवाले पहिला दिल्लीमा पाएको प्रधानमन्त्रीसँगको पहुँच अहिले छैन।’

नेपाली कांग्रेस र एमाले मिलेर बनेको अहिलेको गठबन्धनलाई सिंह देउवा र ओलीको बाध्यताको उपज ठान्छन्।
‘यसको ठ्याक्कै आयु त ज्योतिषीले नै भन्लान् तर, यति भन्न सकिन्छ– यो गठबन्धन ठिकठाक चलिरहेको छैन,’ सिंहले थपे, ‘सरकारमा रहेका संयन्त्रकै नेताहरूको वक्तव्य सरकारको पक्षमा छैन। सरकार ढल्छ, ढल्छ भन्छन्। सरकार ढल्नका लागि छ चाहिँ कहाँ?’
अहिलेको अर्को तात्तातो राजनीतिक सन्दर्भ राजावादीको प्रदर्शनबारे जिज्ञासामा उनले नेपालमा राजावादीको कुनै शक्ति नभएको दाबी गरे।
‘गणतन्त्रलाई राजाबाट होइन, यिनै पार्टीकै नेताबाट खतरा छ,’ उनी भन्छन्, ‘गणतन्त्र भनेको जनताको शासन हुनुपर्छ। तर, यहाँ जनताको होइन, नेताको शासन छ।’
त्यसोभए पूर्वराजाको स्वागतमा योगी आदित्यनाथको तस्बिर देखिनुले के संकेत गर्छ?
सिंह यसलाई स्वाभाविक मात्रै मान्दैनन्, अहिले नेपालको राजनीतिक पावरसेन्टर नै उत्तरप्रदेशस्थित लखनऊ बनेको दाबी पो गर्छन्। सोही कारण उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न पूर्वराजादेखि सत्तारुढ दलका नेताहरू नै लर्को लागेर लखनऊ पुगिरहेको उनको ठोकुवा छ।

‘०४६ सालमा काठमाडौँको चाक्सीबारीमा गणेशमान सिंहको घरमा भारतीय नेता नै आएका थिए नि, अहिले प्रदर्शनमा फोटो देखाउँदा किन आपत्ति?,’ सिंहको भनाइ छ, ‘नेपालको राजनीतिमा भारत सधैँ एउटा फ्याक्टर रहँदै आएको छ। भारतको कुनै एक ठाउँ सधैँ नेपालको राजनीतिक पावरसेन्टर रहँदै आएको छ।’
सिंहको दाबी अनुसार २००७ मा कलकत्ता, ०४६ मा बनारस नेपालको राजनीतिक पावरसेन्टर थिए। बनारस पढेका गिरिजाप्रसाद कोइराला, खुमबहादुर खड्का, कृष्णप्रसाद भट्टराई, प्रदिप गिरी नेपालमा नेता भए।

‘०६३ को आन्दोलनको सेन्टर दिल्ली थियो। १२ बुँदे सम्झौता दिल्लीमै भएको थियो,’ सिंहले भने, ‘अहिलेको राजनीतिक पावरसेन्टर लखनऊ हो।’
आगामी दिनमा नेपालमा राजनीतिक परिवर्तन भयो भने त्यो लखनउको प्रभावले हुने उनको दाबी छ।
‘भारतको एउटा सिस्टम के छ भने प्रधानमन्त्रीलाई कहिल्यै संलग्न नगराउने,’ सिंहले भने, ‘प्रधानमन्त्रीको इमेज स्वच्छ र सफा नै राख्छन्। जस्तो, १२ बुँदे सहमतिका बेला पनि कसैले मनमोहन सिंहसँग भेटेर छलफल गरेँ भन्छ भने त्यो गलत हो। सबै ब्रिफिङ प्रणव मुखर्जीकोमा हुन्थ्यो। त्यस्तै अहिले जे भइरहेको छ, त्यो मोदीजीको जानकारीमा होला तर उहाँको संलग्नता कसैले देखाउन सक्दैन। चाहे हिन्दु राष्ट्रका लागि होस् या अन्य कुराका लागि। भारतमा जुनजुन निर्वाचन क्षेत्रमा योगी आदित्यनाथ पुगे, त्यहाँ भाजपाले जितेको छ। मोदीपछि भाजपाको स्टार क्याम्पेनर कोही छ भने अहिले योगी नै हुन्।’

भारतको नेपाल चासोबारे राम्रो जानकारी राख्ने नेताका रूपमा चिनिएका सिंहलाई हामीले सोध्यौँ– त्यसोभए राजावादी प्रदर्शनलाई भारतको साथ छ?
‘राजावादीलाई भारतको साथ हो या होइन त्यो म भन्न सक्दिनँ तर साथ लिन खोजेको हुन सक्छ,’ जवाफपछि उनले उल्टै प्रतिप्रश्न गरे, ‘पूर्वराजा कतिपल्ट लखनऊ गए? कांग्रेस महामन्त्री गगन थापा कतिपल्ट गए? शशांक कोइराला कतिपल्ट गए? राजकिशोर यादव कतिपल्ट गए? नेपालबाट जो दिल्ली जान्छ, अहिले सबै लखनऊ डाइभर्ट हुन्छन्। तपाईं मान्नुस्, नमान्नुस् नेपालको राजनीतिमा लखनऊ एउटा फ्याक्टर हो।’
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चिढिनु र भारत भ्रमण हुन नसक्नुको कारणबारे पनि सिंहले खुलाएका छन्।
हेर्नुस्, डा अमरेश सिंहसँग बिहीबार गरिएको भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’ :

प्रतिक्रिया