राजनीति


विश्वप्रकाशको प्रस्ताव: प्रधानमन्त्रीलाई गाह्रो भएको हो भने कांग्रेस बाहिरिन्छ, एमालेको मात्रै टिम बनाउनू

विश्वप्रकाशको प्रस्ताव: प्रधानमन्त्रीलाई गाह्रो भएको हो भने कांग्रेस बाहिरिन्छ, एमालेको मात्रै टिम बनाउनू

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १५:५६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने दोहोर्‍याएका छन्। मौन धारण गरेर सरकार सफल नहुने ‍र सरकार सफल हुने भनेकै कमी, कमजोरी केलाएर हुने शर्माको भनाइ छ। उनले कांग्रेस संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको बताए।

‘यो सरकार कायम रहन्छ। सरकार चल्नुपर्छ र सरकारले आफ्नो कार्यशैली बदल्नुपर्छ। सरकार सफल हुने भनेको मौन धारणा गरेर हो र? सरकार सफल हुने त कमजोरी केलाएर हो नि,' उनले भने, 'आफू संलग्न भएको सरकारको सफलताको लागि सरकार यहाँ तिमी चुक्दैछौ, यहाँ तिमी चुक्दैछौ। यहाँ तिमी ढिलाइ गर्दैछौ भनेर बोल्ने कर्तव्य त पार्टीका पदाधिकारीहरूको बन्छ नि।’

महामन्त्री शर्माले प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री छ उसकै पार्टीकै मात्र टिम बनाउने सहमति गर्न प्रस्ताव पेस गरे। 

एमालेबाट प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम र कांग्रेसबाट प्रधानमन्त्री हुने बेलामा का‍ंग्रेस टिम हुनेगरी अघि बढ्न शर्माले विकल्प दिए। 

‘जो प्रधानमन्त्री उसैको टिम यसमा सहमत होऔँ। कांग्रेसका मन्त्रीहरूका कारण काम गर्न गाह्रो भयो भने प्रधानमन्त्रीले भन्नुपर्‍यो। एमालेको प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम दिने। बरु, अरू साना दललाई गाँसौँला, कांग्रेस बाहिरिने। कांग्रेस बाहिरिँदा विपक्षीको बेन्चमा होइन, सत्ता पक्षको बेन्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने' शर्माको प्रस्ताव छ।

त्यस्तै उनले थपे, 'भोलि कांग्रेसको प्रधानमन्त्री बन्ने बेलामा कांग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमजोरीप्रति प्रश्न गर्छ।’ 

शर्माको यो भनाइ आज बिहान सभापति शेरबहादुर देउवाको निवासमा भएको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछिको हो। उक्त बैठकमा सरकारको आलोचना गरिरहेका शर्मा र गगनकुमार थापामाथि प्रश्न उठाइएको थियो। सभापति शेरबहादुर देउवासहितका केही नेताले सरकारबारे आलोचना र टिप्पणी बाहिर नगर्न भनेका थिए। 

तर, शर्माले बैठकमा भएको छलफलको विपरीत धारणा व्यक्त गरेका छन्।  उनले सबैभन्दा उत्तम विकल्प सरकारको गति बढाउनु नै रहेको जिकिर गरे। कुनै पनि बहाना बनाएर सरकारको कार्यसम्पादनमा भएको ढिलाइको दोष लगाउन नहुने शर्माले बताए।

उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको जवाफ दिँदै सरकारको आलोचनालाई आक्रमण कम र सरकारको गति रूपान्तरणको लागि बोलिएको रूपमा हेर्न आग्रह गरे। 

‘सबैभन्दा उत्तम विकल्प, सरकारको गति  बढ्नुपर्छ। कुनै पनि यो वा त्यो, इन्तु-परन्तु, इफ-बट भनिराखेर सरकारलाई ढिलाइ भएको कुरामा कसैलाई दोष लगाएर हुँदैन,' उनले भने, 'पूर्वप्रधानमन्त्री प्रचण्डलाई म भन्न चाहन्छु- सरकारमाथिको आक्रमण कम, सरकारको गति रूपान्तरणको लागि बोलिएको हो। यो सरकार रहन्छ, रहनुपर्छ।’ 

उनले कांग्रेस सभापति शेरबहादुर देउवासमेत कामको गति बढाउनुपर्ने पक्षमा रहेको बताए। उनले शिक्षकका माग सम्बोधन गर्न, गभर्नर नियुक्ति, एआईजी नियुक्तिलगायतका कामहरूमा अब ढिलाइ गर्न नहुनेसमेत बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad