राजनीति


सर्वोच्चले जिल्ला अदालतबाट पनि झिकायो रवि लामिछानेका सबै कागजात

सर्वोच्चले जिल्ला अदालतबाट पनि झिकायो रवि लामिछानेका सबै कागजात

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १७:२, काठमाडौँ

सर्वोच्च अदालतले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेको मुद्दामा जिल्ला अदालत रुपन्देहीको मिसिलमा संलग्न सम्पूर्ण कागजातसमेत झिकाएको छ। 

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आइतबार प्रारम्भिक सुनुवाइ सकेपछि उच्च अदालतले थुनामा पठाउने आदेशको निर्णय लिँदाको आधारसहितको कैफियत प्रतिवेदन मागेको गरेको थियो। सँगै सर्वोच्चले मुद्दाको मिसिलमा संलग्न सबै कागजातको विद्युतीय फाइल तयार पारेर १५ दिनभित्र सफ्टवेयरमा अनिवार्य राख्न आदेशमा उल्लेख छ। यसका लागि जिल्ला अदालत रुपन्देहीमा पत्राचार गर्न सर्वोच्च प्रशासनलाई इजलासले भनेको छ।  

त्यस्तै सर्वोच्चले कैफियत प्रतिवेदन प्राप्त भइसकेपछि पेसीको सूचना महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार गर्न पनि भनेको छ। 

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेशविरुद्ध सहकारी ठगी तथा संगठित अपराधका अभियुक्त लामिछानेको तर्फबाट शुक्रबार सर्वोच्चमा निवेदन दर्ता भएको थियो।  

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त लामिछाने चैत २२ मै पक्राउ परेका थिए। उच्च अदालतको आदेशलगत्तै काठमाडौँको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ गरेर प्रहरीले भोलिपल्ट विमानमार्फत भैरहवा पुर्‍याएको थियो। २५ गते उनलाई जिल्ला अदालतले थुनुवा पुर्जी दिएर कारागार चलान गरेको थियो। 

यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही मुद्दाका अभियुक्त छविलाल बन्जाडेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ।

यसमध्ये रवि, छवि र जीबीले गोर्खा मिडिया प्रालि स्थापना गरी त्यस कम्पनीमार्फत गैरकानुनी रूपमा १० करोड ९९ लाख ३६ हजार रकम परिचालन गरेको अभियोगपत्रमा उल्लेख छ। जीबी राई भने फरार छन्।

थुनामा रहेका छविले पनि थुनामा राख्ने आदेश बदर माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि छ सुनुवाइ गर्दै सर्वोच्चले कैफियत प्रतिवेदन माग गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad