प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा केही भएन भनेर निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका छन्।
नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
‘अनेकौँ कठिनाइहरुका वावजुद हामीले हासिल गरेका उपलब्धिहरुलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौँ भन्ने विश्वास लिएको छु,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो। राष्ट्रको साझा आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ। राष्ट्रको साझा गन्तव्य प्राप्त गर्न हामीमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक छ।’
उनले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधतालाई राष्ट्रका साझा सम्पति भन्दै यिनलाई परस्पर विरोधी शक्तिका रुपमा होइन, तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
‘सद्भाव, सहिष्णुता र राष्ट्रप्रेमको मिलनबिन्दुमा उभिएर मात्र हामी देशलाई अगाडि बढाउन सक्छौँ,’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्।
नयाँ वर्षमा प्रकृतिसँग पनि मित्रता राख्ने संकल्प गर्नु आवश्यक रहेको भन्दै ओलीले वातावरणको रक्षा बिना दिगो विकास सम्भव नभएको बताएका छन्।
‘हरियाली, स्वच्छता, जलवायु सन्तुलन र प्रकृतिप्रति जिम्मेवार व्यवहारले मात्र हामी नयाँ पुस्तालाई सुरक्षित मातृभूमि हस्तान्तरण गर्न सक्छौँ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने संकल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नु पर्दछ।’
Shares

प्रतिक्रिया