राजनीति


रविले राति नै गिरफ्तारी दिन्छु भने, रास्वपा अहिले खनिँदै छ अदालत र प्रहरीविरुद्ध

रविले राति नै गिरफ्तारी दिन्छु भने, रास्वपा अहिले खनिँदै छ अदालत र प्रहरीविरुद्ध

फाइल तस्बिर


उजिर कार्की
चैत २७, २०८१ बुधबार २२:५८, काठमाडौँ

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त एवं आफ्ना सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व अदालतको आदेश र आदेश कार्यन्वयन गर्ने प्रहरीविरुद्ध खनिएको छ। 

प्रहरीले गैरकानुनी रुपमा राति पक्राउ गरेर मानव अधिकारको उल्लंघन गरेको गुनासो गर्दै रास्वपाका नेताहरुले बुधबार राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्। 

त्यसपछि साँझ वनस्थलीमा बसेको पार्टी सचिवालयको बैठकले पनि रविलाई प्रहरीले गैरकानुनी रुपमा हिरासतमा राखेको निष्कर्ष निकालेको छ। 

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते शुक्रबार जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश दिएको थियो। 

यसअघि जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका रविलाई त्यसरी छाड्न नमिल्ने र थुनामै बस्नुपर्ने भनी उच्च अदालतले आदेश दिएलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोली उनको बूढानीलकण्ठस्थित निवासमा पुगेको थियो। 

प्रहरी गेटमा आएपछि उनी भने सामाजिक सञ्जालमा सक्रिय भएका थिए। अहिले रास्वपाले उठाएका विषय खण्डन गर्ने गरी रविले त्यसैबेला सामाजिक सञ्जालमा अभिव्यक्ति दिइसकेका थिए। 

रास्वपाले अहिले रविलाई राति पक्राउ गरिएको भन्दै मानव अधिकारको प्रश्न उठाइरहेको छ। तर, रविले प्रहरीले पक्राउ गर्नुभन्दा पहिले आफैँले त्यसै राति तत्कालै गिरफ्तारी दिने उल्लेख गरेका थिए। 

उनले लेखेका थिए, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदै छु। साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढक्ढकाउछु। ममाथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्।’

उनी आफै त्यही राति गिरफतारी दिन तयार भइसकेको विषयमा अहिले रास्वपा भने प्रहरीले गैरकानुनी रुपमा अदालतको आदेश र पक्राउ पूर्जीसमेत नआई पक्राउ गरेको भन्दै विरोध गरिरहेको छ। 

रविले त्यतिबेला अदालतको आदेशको सम्मान गर्दै आफै गिरफतारी दिने भने र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जाने संकेत गरेका थिए। 

आदेश आएको एक सातासम्म पनि रविको तर्फबाट सर्वोच्च अदालतमा निवेदन पुगिसकेको भने छैन। 

बरु रास्वपाका कार्यकर्ता अदालत र न्यायाधीशविरुद्ध सामाजिक सञ्जालमा सक्रिय देखिएका छन्।

जस्तो कि रास्वपाका केन्द्रीय सदस्य ज्वाला संग्रौलाले रविलाई थुनामा पठाउने आदेश गर्ने न्यायाधीशलाई ‘पार्टीको झोले’ भनेर टिप्पणी गरेकी छन्। उनको यस टिप्पणीलाई लिएर अदालतको अवहेलनासम्बन्धी मुद्दासमेत बुधबार सर्वोच्च अदालतमा दायर भएको छ।

के भएको थियो त्यस रात?
शुक्रबार साँझ बुटवल अदालतको आदेश आएको केही घण्टामै काठमाडौँमा प्रहरी सक्रिय भएको थियो। प्रहरी आफ्नो घरमा आइपुगेपछि नै रविले स्टाटस लेखेर आफ्नो फेसबुकमा पोस्ट गरेका थिए।

प्रहरी आएको थाहा पाएपछि उनले ढोका थुनेर भिडिओ सन्देशसमेत रेकर्ड गरे र कार्यकर्तामार्फत सार्वजनिक गराए। प्रहरी उनको कोठाबाहिर पर्खिरहेको थियो। लामो समय कुर्दा पनि रवि बाहिर नआएपछि प्रहरीले उनका सहयोगीहरुलाई ताकिता गरेको थियो। रविका कार्यकर्ता प्रहरीलाई ‘बेडरुममै जाने हो?’ भन्दै सोध्न थाले। त्यसपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले भने, ‘त्यसो भए बोलाइदिनु न त। हामी अघिदेखि कुरिरहेकै छौँ।’

त्यसपछि पूर्वगृहमन्त्रीसमेत रहेका रवि प्रहरीलाई हप्काउँदै बाहिर निस्किए। 

‘म जानलाई भनेर रेडी गरेर बसिरहेको छु। कामै गर्न नदिने भन्ने के गर्न खोजेको  तपाईँहरुले? हँ के हो? कागज मगाएर हेराउनुपरेन तपाईँहरुले? दादागिरी देखाएको? नियम कानुन छैन? मलाई न्यायको अधिकार छैन? मैले मेरो कानुन व्यवसायी भेट्न मिल्दैन? कि करपझ्याप्प पारेर लानुहुन्छ मलाई? म कहाँ जान्छु? भाग्छु म? इलिगल आदेश नगर्नुस् मलाई। हद नगर्नुस् यार अन्यायको हद,’ भर्‍याङमा उभिइरहेका प्रहरीलाई उनले हप्काए। 

रवि यतिमै रोकिएनन्। भन्दै थिए, ‘मार्नुहुन्छ भने मार्नुस्, सजिलो। कि त्यस्तो आदेश छ? तपाईंले दुईवटा फुली बढाउनुहोला, म प्रधानमन्त्री हुन छाडेर हिँडेको मान्छे हो। तपाईँहरुलाई अदालतले के भनेको छ? यति बजेर यति सेकेन्डभित्रमा पक्राउ गर्नु भनेको छ?’

त्यसपछि रविले नै प्रहरीलाई बोलाएर भित्र लगे। भित्र पनि रविले प्रहरीसँग वादविवाद गरेपछि अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेत आफै पुगेर उनलाई बाहिर लिकालेर प्रहरी भ्यानमा चढाए। 

तर अहिले रास्वपाका नेता कार्यकर्ता प्रहरी रविकै बेडरुममा पुगेको भन्दै विरोध गरिरहेका छन्। उनीहरुको निशानामा प्रहरी र थुनामा पठाउन आदेश गर्ने न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुली परेका छन्। 

रवि पक्राउ परेको भोलिपल्ल्ट चितवनमा रास्वपाको खबरदारी सभा थियो। उक्त सभामा पनि रास्वपाका नेताहरु न्यायालयको आदेशविरुद्ध नै वक्तव्यबाजीमा उत्रिए।

रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले त यस विषयलाई अब अन्तर्राष्ट्रियकरण गर्ने भनी अभिव्यक्ति नै दिए। उनले भनेको अन्तर्राष्ट्रिय के हो कसरी गर्ने भन्नेचाहिँ स्पष्ट छैन। 

चितवनमा सभा चलिहरँदा रविलाई भने त्यसै दिन रुपन्देही लगिएको थियो। शनिबार रुपन्देही लगिएका रविलाई भोलिपल्ट पनि अदालत बिदा भएकाले सोमबार मात्रै अदालतमा उपस्थित गराएर कारागार लगिएको थियो। हाल उनी भैरहवा कारागारमा छन्।

आयोगले अब के गर्छ?
बुधबार रास्वपाले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजुरीमा चारवटा विषय मुख्य गरी उठाएका छन्। 

आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार, राति आएर पक्रिएको, पक्राउ पुर्जी पनि नदिएको, अन्तिम इच्छा के छ भनी मृत्युदण्ड दिन लागिएजसरी सोधिएको र राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको गुनासो आयोगमा पुगेको छ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीसहित पुगेको टोलीलाई आयोगका अध्यक्ष तपबहादुर मगरले ‘के भएको हो, यस विषयमा बुझ्ने र आवश्यक परे अनुसन्धान पनि गर्ने’ जवाफ दिएको छ। 

‘उहाँहरुले दाबी गरेजस्तो हो होइन सुरुमा अनुगमन गर्छौँ, त्यसमा गहिराइमा पस्नपर्ने देखियो भने अनुसन्धान गर्छौैँ,’ प्रवक्ता पोखरेलले नेपालखबरसँग भने। 

यसअघि हिरासतमा राखेर अनुसन्धान गर्दा पनि चितवनबाट पोखरा राति नै लगिएको भन्दै रविपत्नी निकिता पौडेलले आयोगमा उजुरी दिएकी थिइन्। त्यतिबेला आईजीपी वसन्तबहादुर कुँवरको ठाडो निर्देशनमा रविलाई रातारात पोखरा लगिएको भन्दै उजुरी दिइएको थियो। आयोगले तत्कालीन आईजीपी कुँवरलाई बोलाएर सोधपुछ पनि गरेको थियो। कुँवरले उक्त आरोप अस्वीकार गरे र रवि पक्षको आरोप पुष्टि हुने कुनै तथ्य फेला नपारेपछि आयोग पनि त्यसपछि चुप बसेको थियो।

आयोगले पहिलो उजुरीको टुंगो नलगाउँदै रास्वपा रविकै विषय लिएर फेरि अर्को उजुरीसाथ आयोगमा पुगेको हो। 

रविको पक्राउ गैरकानुनी नै हो?
मानव अधिकार कानुनका जानकार अधिवक्ता ओमप्रकाश अर्याल यस प्रकरणमा राज्य विशेष ‘चनाखो’ भएर रविलाई नियन्त्रणमा लिइएको ठान्छन्।

उनका अनुसार, रवि उच्च अदालतमा सुनुवाइका बखत उपस्थित भएका हुन्थे भने तत्कालै त्यही स्थानमा रुजु गराएर पनि अदालतले थुनामा पठाउन सक्थ्यो। अदालतमा उपस्थित नभएका अभियुक्तका हकमा भागी जान सक्ने, साक्षीलाई दख्खल दिन सक्ने, आफ्ना समर्थकलाई भड्काएर अर्को परिस्थित बनाउन सक्ने आदि अवस्थाको विश्लेषण गरी राज्य (प्रहरी) चनाखो हुन सक्ने उनको भनाइ छ।

कानुनी प्रक्रियाका बारेमा रवि र उनको पार्टीले संगठित रुपमै प्रश्न उठाएकाले सरकार पहिल्यै चनाखो भएको भएको हुन सक्ने अर्यालको अनुमान छ।

‘कुनै पनि अभियुक्त भाग्ने, उम्कने, क्षति पु¥याउने र मास भड्काउने किसिमले अभिव्यक्ति दिएको अवस्थामा प्रहरीले तत्काल पक्राउ गर्न सक्छ,’ उनी भन्छन्, ‘केही दिनअघि मात्रै तीनकुनेमा राजावादीको पदर्शनको कमान्ड गरेका दुर्गा प्रसाईं भागेका थिए। उनलाई पनि प्रहरीले तत्काल पक्राउ नगरेको र उम्काएको भन्दै आलोचना खेपिरहेको प्रहरीले यस्तै अवस्था आउन सक्ने आशंकामा रविलाई तत्काल पक्राउ गरेको हो कि?’

अदालत र न्यायाधीशहरुका विरुद्ध पनि रवि र उनका समर्थकहरुका तर्फबाट भएका टिप्पणीका कारण पनि राज्य अझ चनाखो भएको हुन सक्ने उनको बुझाइ छ।

‘न्यायपालिकामाथि ब्लेम लगाउने उहाँ र उहाँको पक्षबाट भए। अहिले राज्य बढी चनाखो भएको देखियो, यो केसमा ठिक थियो कि थिएन भन्ने अर्को पाटो भयो,’ अधिवक्ता अर्यालले भने, ‘रास्वपाका मान्छेको अभिव्यक्ति पनि अदालतको विरुद्धमा छ। जनता भड्काउने खालको छ। आदेशमा कपिपेस्ट गरेको जस्ता विषय निकालेर संगठित रुपमा न्यायालय र प्रहरीको विरुद्धमा लागेका देखिन्छन्। यस्तै कुराहरु बुझेपछि राज्य बढी चनाखो भएको हो कि?’

यसअघि पनि कतिपय अभियुक्तहरुलाई अदालतको आदेश र फैसलाको पूर्ण पाठ नआउँदै प्रहरीले पक्राउ गरेका उदाहरण रहेको अर्यालले बताए। उनका भनाइमा, योगेन्द्र रावल र चक्रे मिलनलाई पनि अदालतको पूर्णपाठ नआउँदै प्रहरीले पक्राउ गरिसकेको थियो। 
‘यदि प्रहरी र अदालतको विषयमा चित्त बुझेन भने सर्वोच्च अदालत जाने विकल्प बाँकी नै रहेकाले त्यही विकल्प रोज्नु उपयुक्त हुन्छ,’ उनी भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad