मंगलबार काठमाडौंको बल्खुमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)ले गरेको खबरदारी सभा शान्तिपूर्ण रह्यो। चैत १५ गते तीनकुुनेमा भएको राजावादीको आन्दोलनजस्तै हिंसात्मक पो हुने हो कि भनेर बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ थिए। तर, त्यस्तो भएन।
यसो भन्दै गर्दा यो विरोध सभामा दुर्गा प्रसाईंले कमान्ड गरेको राजावादीको आन्दोलनमा जस्तो बाक्लो सहभागिता पनि देखिएन। जसकारण कतिपयले सामाजिक संजालमा यतिखेर तीनकुने घटनापछि राजावादीको आन्दोलन कमजोर भएको भनेर व्यंग्य गरिरहेका छन्।
तर, विरोधसभापछि नेपालखबर ‘तत्कालै’मा गफिएका राप्रपा अध्यक्ष लिङ्देनले जनसहभागिता अपेक्षित र उल्लेख्य नै भएको दाबी गरे।

‘दुर्गा प्रसाईंं जत्तिको मास पनि ल्याउन सक्नुभएन नि?’ भन्ने प्रश्नमा उनले भने, ‘यो गलत प्रचार हो। कसैसँग तुलना गर्ने भन्ने पनि होइन। यत्तिको हुन्छ भन्ने हामीलाई अनुमान नै थियो। अनुमान गरेजस्तै भएको हो।’
तीनकुने घटनापछि केही समर्थक डरले नआएको उनले स्वीकारे। ‘स्वभाविक रुपमा तीनकुने घटनापछि मानिसहरू फेरि हिंसा हुन्छ कि भनेर डरले आएनन्,’ उनले भने, ‘सभामा भेटिएका चिनेजानेका मानिसहरूले तीनकुनेमा जस्तो घटना होला कि भनेरर बुढापाका, महिलाहरू लिएर आएनौँ भनेर भनिरहेका थिए।’
राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र कमान्डरमा दुर्गा प्रसाईं तोकिएपछि यतिखेर सर्वत्र उठेको आशंक हो – के पूर्वराजा ज्ञानेन्द्र शाहले लिङ्देनमाथि भरोसा गर्न छाडेका हुन्?

हामीले यही प्रश्न लिङ्देनलाई तेर्साउँदा जवाफमा उनले भने, ‘पहिलो कुरा के स्पष्ट हुनुपर्यो भने राजाबाट कमान्डर तोकियो भन्ने कुरा नै गलत छ। दुर्गा प्रसाईं आफैले पनि मलाई त्यहाँबाट कमान्डर तोकिएको होइन भनेका छन्। आन्दोलनको अघिल्लो दिन पूर्वराजालाई भेट्न गएकै आधारमा त्यस्तो शंका गर्नु भएन। ’
उनले कमान्डर तोकिनु या नतोकिनु आफ्नो चासोको विषय नभएको समेत बताए। ‘यो मेरो चासोको विषय होइन,’ उनले भने, ‘म आफैँ पार्टीको कमान्डर हुँ। सिंगो पार्टीको नेतृत्व गरिरहेको छु। अर्को संस्था र अर्को समितिले गरेको आन्दोलनको मैले किन नेतृत्व गर्छु? हामीजस्तै कसैले अर्को संस्था बनाएर हाम्रोजस्तै मुद्दा उठाएर आयो भने हाम्रो समर्थन रहन्छ भनेका हौँ। राजसंस्थाको पक्षमा कसैले उठाउँछ भने त्यसमा नैतिक समर्थन त रहन्छ नै।’
लिङ्देनले तीनकुने घटनामा भएको मानविय तथा भौतिक क्षतिमा पूर्वराजालाई मुुछेकोमा आपत्तिसमेत जनाए। ‘कसैले राजा चाहिन्छ यो देशलाई भनेर आन्दोलन गर्यो भने पूर्वराजालाई किन मुछ्ने?,’ उनले भने, ‘भोलि यसले विद्रोहको रुप लियो र मान्छेहरूले बन्दुक नै बोकेर हिँड्यो भने त्यसमा राजालाई जोड्न मिल्छ? त्यसैले म सोध्ने गर्छु, एमाले माओवादीले गरेको आन्दोलनका लागि मार्क्स र लेनिनलाई जिम्मेवार बनाउन मिल्छ?’

सरकारले पूर्व राजाको पासपोर्ट खोस्नेदेखि नजरबन्दमा राख्नेसम्मको तयारी गरिरहेको भन्ने सुनिन्छ नि भन्ने जिज्ञासामा लिङ्देन आक्रोशित सुनिए, ‘हिम्मत छ भने पहिले त्यसो गरेर देखाओस् न।’
हामीले सोध्यौँ– ‘तीनकुने घटनापछि पूर्वराजासँग तपाईँको सम्पर्क भयो कि भएन?’
भिडिओ/तस्बिर: सौगात दाहाल
हेर्नुहोस्, पूर्वराजा, तीनकुने घटना र राजावादी आन्दोलनबारे लिङ्देनले हामीसँग नेपालखबर ‘तत्कालै’मा गरेको यो भिडियो कुराकानी :

प्रतिक्रिया