राजनीति


जनमोर्चाको आन्दोलनमा जर्मन एमएलपीडीका नेताले भने : ट्रम्पको उदयपछि विश्वयुद्धको जोखिम बढेको छ

जनमोर्चाको आन्दोलनमा जर्मन एमएलपीडीका नेताले भने : ट्रम्पको उदयपछि विश्वयुद्धको जोखिम बढेको छ

नेपालखबर
चैत २६, २०८१ मंगलबार १६:२७, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले काठमाडौँमा सञ्चालन गरेको संघीयताविरुद्धको आन्दोलनप्रति मार्क्सवादी–लेनिनवादी पार्टी अफ जर्मनी (एमएलपीडी) ले ऐक्यवद्धता जनाएको छ।

मंगलबार माइतीघर मण्डलामा जनमोर्चाले आयोजना गरेको जनसभालाई एमएलपीडीका प्रतिनिधि अल्वर्ट स्मिथले सम्बोधन गर्दै नेपालमा संघीयताविरुद्ध आफ्नो पार्टीको ऐक्यवद्धता रहेको बताएका हुन्।

अल्बर्टले नेपालमा भारत र चीन जस्ता साम्राज्यवादी शक्तिले नेपाललाई नियन्त्रण र शोषण गर्न चाहेको बताए। उनले संघीयता पनि नेपालको हितमा नभएर भारतकै हितमा रहेको जिकीर गरे।
उनले भने ‘भारत र चीन जस्ता नयाँ साम्राज्यवादी शक्तिहरूले पनि नेपालमाथि नियन्त्रण र शोषण गर्न चाहिरहेका छन्। जातीय आधारमा लादिएको संघीयता भारतको रणनीतिक हितमा छ, विशेष गरी तराई क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न।’

उनले ट्रम्पको सत्तामा पुनः आगमनसँगै दोस्रो विश्वयुद्धपछिको पूरै व्यवस्था हल्लिएको बताए।

‘आजको विश्व परिस्थिति गम्भीर मोडमा पुगेको छ। यो अवस्थामा विश्वयुद्धको जोखिम तीव्र भएको छ’ उनले भने, ‘ट्रम्पको सत्तामा पुनः आगमनसँगै दोस्रो विश्वयुद्धपछिको पूरै व्यवस्था हल्लिएको छ। सबैभन्दा शक्तिशाली साम्राज्यवादीहरू—विशेषतः अमेरिकामा ट्रम्पको नेतृत्वमा—फासिवादी आधारमा आफ्नो स्वार्थ पूरा गर्न, मुनाफा सुरक्षित गर्न र सम्पूर्ण विश्वलाई अधीनमा राख्न प्रयत्नरत छन’

यस्तै, अल्बर्टले नेपालमा युएसएआईडीका धेरै परियोजना रोकिँदा र नेपाली नागरिकहरूलाई अमेरिकाबाट जबर्जस्ती निष्कासन गरिँदा नेपाल प्रत्यक्ष रूपमा साम्राज्यवादी नीतिको चपेटामा परेको उल्लेख गरे। यस्ता परियोजनाको रोकावटले धेरै देशहरूमा विशेष गरी महिला र बालबालिकाको मृत्यु बढाउने भन्दै उनले यसका विरुद्ध ऐक्यबद्धताको आधारमा सहयोग र आत्मनिर्भर सहायता अभियान सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गरे।

अल्बर्टले नेपालमा संघीयताको विरोध गर्नु साम्राज्यवादकै विरोध भएको बताए। उनले नेपालको सन्दर्भमा विकेन्द्रिकरण नै उपयुक्त हुने धारणा राखे।

‘तपाईंहरूको संघीयता विरोधी अभियान स्पष्ट रूपमा देखाउँछ कि तपाईंहरू डराइरहनु भएको छैन, बरु यो साम्राज्यवादी नीतिको विरुद्ध साहसका साथ संघर्षरत हुनुहुन्छ’ उनले भने, ‘संघीय प्रणाली विरुद्ध तपाईंहरूको आन्दोलनलाई हामी हार्दिक बधाई दिन चाहन्छौँ। तपाईंहरूले जुन एकीकृत प्रणाली—लोकतान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वशासनमा आधारित—स्थापना गर्न चाहनुहुन्छ, त्यो साम्राज्यवाद विरुद्धको संघर्षमा महत्वपूर्ण योगदान हो।’

राष्ट्रिय जनमोर्चाले चैत २४ गतेदेखि काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन गरिरहेको छ।

यसक्रममा आज (मंगलबार) माइतीघर मण्डलामा सभाको आयोजना गरेको हो। सभामा जनमोर्चाका महासचिव मनोज भट्टलगायतका नेताहरूले सम्बोधन गरेका छन्।

सभाअघि जाउलाखेलबाट जुलुश प्रदर्शन गरिएको थियो।

जनमोर्चाले संघीयताको खारेजीसँगै गणतन्त्र र राष्ट्रियताको रक्षामा जोड दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad