राजनीति


गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँ, प्रचण्डजी पछि आउनुभएको होः माधव नेपाल

गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँ, प्रचण्डजी पछि आउनुभएको होः माधव नेपाल

नेपालखबर
चैत २४, २०८१ आइतबार १४:०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको दाबी गरेका छन्। 

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले  माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको बताएका हुन्। 

पूर्वराजा शाहलाई राजनीति गर्नुछ भने पार्टी खोल्न नेपालले सुझाव दिए। 

‘एउटा राम्रो कुरा मैले सुने। राम्रो कुरा के हो भने त्यो पूर्वराजाको सचिव एक जनाले बोलेको कुरा सही हो भने-अहिले राजा फर्काउने कुरा छैन, राजाको इच्छा पनि होइन। पूर्वराजाको इच्छा पनि होइन। बाहिरको हल्ला मात्रै हो भने पनि अलिकति मन शान्त भएको छ,' उनले भने, 'अरुले पनि फाइदा उठाउन खोजेका रहेछन्। यदी त्यो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु। राजनीति गर्नु छ भने पार्टी खोल्नुस्। राजनीतिक मैदानमा आउनुस्। जनताको बीचमा जानुस्। चुनावमा जितेर बहुमत ल्याउनुस्। देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो।'

तत्कालीन नेकपा एमालेमा रहँदा पार्टीले गणतन्त्र ल्याउने निर्णय गरेको उनको दाबी छ। कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताए।

'यी जम्मै कुराहरू गर्ने हामी तीन जना नेता हौँ। एउटा गिरिजाप्रसाद कोईराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र। पछि मात्रै हुन् प्रचण्डजी। पछि मात्रै हो उहाँहरु आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो,' उनले भने, 'मंसिर महिनामा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो। हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय हामीले गरेको साउन महिनामा हो। बसेर सहमति गरेको २०६३ सालको वैशाखको ११ गते हो। ११ गते बस्दा म र गिरिजाबाबु थियौँ। हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ। सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो।’

चैत १५ गते राजावादीको प्रदर्शनमा आफ्नो पार्टी कार्यालयको सुरक्षा नगरेको भन्दै उनले आपत्ति पनि जनाए। आफ्नो पार्टीलाई तत्काल क्षतिपूर्ति दिन उनको माग छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad