सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी नेपाल नआउने भएका छन्। शनिबार थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदी नआउने जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओलीले शुक्रबार मात्रै मोदीसँग बैंककमा भेटवार्ता गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठमा हुने सगरमाथा संवादमा आउन मोदीलाई निम्तो दिएका थिए।
तर मोदीको त्यसबेला युरोप भ्रमण तय भइसकेकाले नआउने जानकारी दिएको प्रधानमन्त्री अोलीले सुनाए। ‘यसपल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न। उहाँको पहिला नै युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘उक्त कार्यक्रम सेट भइसकेकाले उहाँ यहाँ आउन सक्नुहुन्न।’
उनले संवादअघि आफू भारत जाने सम्भावना रहेको बताए। 'हामी अहिले अलि व्यस्त नै छौँ, सगरमाथा संवादको तयारी गर्नुपर्नेछ। हाम्रो तर्फबाट के हुनसक्छ हामीले भ्याउँछौँ भन्यौँ भने हुन पनि सक्छ। मेरो समय मिले भ्रमण हुन सक्छ’ उनले भने।
सगरमाथा संवादमा भारतबाट राम्रै स्तरको उपस्थिति हुने प्रधानमन्त्री ओलीले बताए। उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको र त्यसबाट आफू खुसी रहेको बताएका छन्।
Shares

प्रतिक्रिया