राजनीति


दुर्गा प्रसाईंको पछि लाग्दा फसेको राप्रपाको निष्कर्ष, अब एजेन्डा मिल्दैमा समर्थन नगर्ने

दुर्गा प्रसाईंको पछि लाग्दा फसेको राप्रपाको निष्कर्ष, अब एजेन्डा मिल्दैमा समर्थन नगर्ने

सागर न्यौपाने
चैत २२, २०८१ शुक्रबार २०:५०, काठमाडौँ

तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा मच्चिएको उत्पातले पार्टीलाई रक्षात्मक बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्तरिक विश्लेषण गरेको छ। दुर्गा प्रसाईंलाई नेता मानेर जाँदा राजनीतिक रूपमा क्षति भएको निचोडमा उनीहरू पुगेका हुन्।

चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनको नेतृत्व प्रसाईंसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणाले गरेका थिए। आफ्ना सबै नेता/कार्यकर्तालाई तीनकुने जान राप्रपाले निर्देशन दिएको थियो। 

तर, प्रदर्शन हिंसात्मक बन्यो। २ जनाको मृत्यु भयो भने करोडौँको धनसम्पत्तिमा क्षति भयो। अराजक जत्थाले ४१ वटा सवारी साधनमा आगजनी गर्‍यो, सुपरमार्केटमा लुटपाट, पार्टी कार्यालय तोडफोड र आगजनी गर्‍यो।  

भीडले सुनौलो इन्द्रेणी सहकारी संस्था लिमिटेडको भवनमा आगजनी गर्दा पत्रकार सुरेश रजकको जलेर मृत्यु भयो। भीड नियन्त्रणमा असफल भएको प्रहरी आवश्यकताभन्दा ज्यादा गोली चलाएको थियो। प्रहरीको गोली लागी सबिन महर्जनको ज्यान गयो भने अन्य कयौँ व्यक्ति घाइते भए।

यो घटनाबाट आम मानिस पार्टीसँग बिच्किएको राप्रपाको विश्लेषण छ।

‘अलिअलि डिफेन्सिभ बनायो, त्यो भन्दा बढी साइकोलोजी बिगार्‍यो,’ राप्रपाका एक नेताले नेपालखबरसँग भने।

‘हामी फसेकै हो’
चैत १६ गते दिउँसो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समितिका केही नेतासँग छलफल गरे। छलफलमा तीनकुने घटनामा सहभागी भएर ‘फसिएको’ कुरा उठेको एक पदाधिकारीले बताएका थिए।

‘अस्तिको बैठकमा तीनकुने घटनामा बेकारमा हामी फस्यौँ भनेर नेताज्यूहरूले कुरा उठाउनुभयो,’ उनले भने, ‘त्यसबाट हामीले पाठ सिक्नुपर्छ।’

तीनकुने घटनामा संलग्न भएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री राणासहित ४१ नेतालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू ८ दिनदेखि हिरासतमा छन्।  

प्रहरीले राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध गरी तीनवटा कसुरमा अनुसन्धान गरिरहेको छ। 

दुर्गा प्रसाईंले आह्वान गरेको उक्त कार्यक्रमलाई संयुक्त जनआन्दोलन परिचालन समितिले स्वामित्व लिँदा राप्रपाले पनि समर्थन गरेको थियो। महामन्त्री डा. राणा परिचालन समितिमै बसेका थिए।

जब प्रदर्शन उग्र बन्दै गयो, राप्रपाका मिश्र र राणा समेत प्रर्दशनकारीलाई उक्साइरहेका देखिए। तर, राप्रपाले त्यो विध्वंसको जिम्मा लिन सकेन।

प्रहरी हिरासतमा रहेका आफ्ना नेता छुटाउन राप्रपाले २४ घण्टे अल्टिमेटम दिएको थियो। तर, अल्टिमेटम पूरा हुँदा पनि राप्रपाले कुनै प्रतिक्रिया जनाउन सकेन।

त्यसैले रक्षात्मक बनेको पार्टीपंक्तिलाई नयाँ शिराबाट उठाउन राप्रपाले कार्यक्रमको मोडल परिवर्तन गरेको उपाध्यक्ष बुद्धिमान तामाङ बताउँछन्। 

‘अबदेखि जसको कार्यक्रम भए पनि सिधै जाने होइन, पहिला विस्तृत कार्यक्रम विवरण माग्नुपर्‍यो,’ तामाङले भने, ‘को–को बोल्ने? र के–के गर्ने हो। त्यो प्रस्ट आइसकेपछि अनि कसको नेतृत्वमा खटाउने, अध्यक्ष जानुपर्ने रहेछ कि, उपाध्यक्ष जान हुने, महामन्त्री जान हुने हो कि! यो स्पष्ट गर्नुपर्छ।’

तीनकुने प्रदर्शनअघि बसेको  राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफूहरूले उठाएको एजेन्डालाई कुनै व्यक्ति, संस्था पार्टी, जसले उठाएपनि समर्थन गर्ने निर्णय गरेकोले तीनकुनेको कार्यक्रममा केही नेता सहभागी भएको तामाङ बताउँछन्।

आफैँ भने ब्यानरमा दुर्गा प्रसाईंको फोटो देखेपछि कार्यक्रममा नबसेको बताए।

‘हाम्रो पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनज्यू, ज्ञानेन्द्र शाहीसहित हामी प्रदर्शनमा जाने कुरा भइरहेको थियो। तर, जानुभएन। म पुगेर मञ्चतिर हेर्दा त राजाको फोटो, अनि त्यही साइजको दुर्गा प्रसाईंको फोटो राखेको देखियो,’ उनले भने, दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ नि। फोटो देखेर डर लागिहाल्यो नि।’

राप्रपाले २६ गते आफ्नै नेतृत्वमा काठमाडौँमा विरोध कार्यक्रम राखेको छ।

‘तीनकुनेमा दुर्गा प्रसाईंकै कारणले उत्पात मच्चिएको हो। उसको पछि लाग्दा पार्टीलाई क्षति गरायो,’ उनले भने, ‘अब आफ्नै ढंगले हिँड्ने हो। व्यक्ति, समूह, संघ, संस्था, मोर्चाले हाम्रो एजेन्डालाई लिएर आन्दोलन गरे समर्थन रहन्छ भन्ने थियो तर, अब हामी त्यसो गर्दैनौँ,’ उनले भने। 

तीनकुने घटनापछि प्रसाईं फरार छन्। उनले घटनाको जिम्मेवारी नलिँदा यसले अन्योल बढाएको तामाङ बताउँछन्।

प्रदर्शनकारीलाई राज्यले बर्बर दमन गरेको भन्दै राप्रपाका नेताहरूले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, राष्ट्रिय मानवअधिकार आयोग लगायतसमक्ष न्यायिक छानबिन गर्न माग गरेका छन्। अहिलेसम्म सरकारले यसबारे कुनै समिति बनाएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad