जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजतन्त्र फर्काउन नचाहेको टिप्पणी गरेको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा जसपाकी सांसद रञ्जु झाले जनमतले नपत्याएपछि जनतामा भ्रम छर्न राप्रपा तीनकुनेको अराजनीतिक र अराजक तोडफोडको काम गरेको आरोप लगाइन्।
'चैत १५ गतेको तीनकुने घटना राजनीतिक होइन, अपराधिक र अराजक हो। करोडौँको धनजनको क्षतिप्रति हाम्रो आपत्ति छ। न्यायिक छानबिन समिति गठन होस् र दोषीमाथि कारबाही होस्,' झाले भनिन्, 'माननीय विश्वप्रकाश र योगेश भट्टराईका भनाइप्रति मेरो सहमति छ। यो गणतन्त्र त्यसै आएको होइन, ०४२ सालयताका आन्दोलनमा संलग्न छु। धेरै आरोह अवरोह पार गरेर गणतन्त्रसम्म आइपुगेका हौँ।'
उनले राजतन्त्र फर्काउने रहर कसैलाई भए संविधानबाटै समाधान खोज्न आग्रह गरिन्। 'उहाँहरू (राप्रपा) तीनपटक निर्वाचनमा भाग लिइसक्नुभएको छ। उहाँहरू राजालाई राजनीतिक लाभको विषय बनाउँदै हुनुहुन्छ। उहाँहरू नै राजतन्त्र चाहनुहुन्न,' झाले भनिन्, 'यदि चाहनुहुन्छ भने जनतासँग मत माग्ने हो, संविधान संशोधन गर्ने हो। व्यक्तिको निजी सम्पत्तिमा लुटपाट, तोडफोड वा आगजनी गर्ने होइन।'
Shares

प्रतिक्रिया