पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी-कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भने विषपान गर्नुसरह भएको टिप्पणी गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरूले गल्ती गरे जनताले सच्याउनुपर्ने उनको भनाइछ।
उनले अहिलेको परिस्थितिमा सतर्क हुनु जरुरी रहेको पनि बताए। लोकतन्त्रका कमी-कमजोरीलाई सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको उनको धारणा छ।
उनले भने, ‘हिम्मत हारेर हुँदैन, निराश भएर हुँदैन, जब समाज-राज्यमा विकृति हुन्छ, सत्तामा बस्नेहरूले गल्ती गर्दछन्, त्यतिबेला खबरदारी गरेर सच्याउने जनताले हो। तर लोकतन्त्रमा लडेका नेताहरू, लोकतान्त्रिक प्रणालीमा काम गरिरहेकाहरूले गल्ती, कमजोरी गरे भनेर लोकतन्त्रका विरोधीहरू निरंकुशता, राजतन्त्रवादी शक्तिहरू आउनुपर्छ भनेर बुझ्नु त्यो भोक लाग्यो भनेर विषपान गर्नुजस्तै हुन्छ। त्यो श्रेयस्कर, बुद्धिमानी हुँदैन। अहिले जुन किसिमको परिस्थिति निर्माण हुँदै छ, त्यसमा हामी सतर्क बनौँ। हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली इतिहासमा ढिलै भए पनि ल्याएका छौँ, यसका कमी-कमजोरीहरू छन्। यसलाई सच्याउँदै अघि बढ्नुपर्छ।’
Shares

प्रतिक्रिया