राजनीति


तीनकुनेमा भएको क्षतिको जरिवाना निर्मल निवासलाई तिराउँदै बालेन

तीनकुनेमा भएको क्षतिको जरिवाना निर्मल निवासलाई तिराउँदै बालेन

नेपालखबर
चैत १६, २०८१ शनिबार १४:५७, काठमाडौँ

काठमाडौंँ महानगरपालिकाले तीनकुने क्षेत्रको प्रदर्शनका क्रममा महानगरको सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने भएका छन्।

त्यसका लागि पत्र लेख्ने काम भइरहेको उनको सचिवालयका एक सदस्यले नेपालखबरलाई जानकारी दिए। 

दुर्गा प्रसाईको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भए पनि यसको मुख्य जिम्मेवार निर्मल निवास भएको निष्कर्षमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को टोली पुगेको छ। 

‘जरिवाना कसलाई तिराउने भनेर छलफल भयो, अहिलेसम्म निर्मल निवासमै पठाउने भन्नेमा पुगिएको छ,’ ती सदस्यले नेपालखबरसँग भने। 

ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन शुक्रबार उनका समर्थकहरूले दुर्गा प्रसाईको नेतृत्वमा गरेको प्रदर्शन अराजक बनेको थियो। तिनीहरूले निजी घर, सरकारी गाडी जलाउने, तोडफोड गर्नेजस्ता ध्वंसात्मक गतिविधि गरेका थिए।

त्यस क्षेत्रमा महानगरपालिकाको अधिकारक्षेत्रमा पर्ने सम्पत्ति क्षतिको मूल्यांकन गरी पत्र पठाउन लागिएको मेयर शाहका सहयोगीको भनाइ छ।

शुक्रबार र शनिबार गरियो क्षतिको विवरण संकलन
महानगरको टोलीले शुक्रबार र शनिबार गरी क्षतिको विवरण संकलन गरेको थियो। शुक्रबार अबेरसम्म पनि प्रदर्शनकारी उग्र भइरहेपछि महानगर प्रहरी बलसहित कर्मचारीको टोली फर्किएको थियो।

त्यसपछि शनिबार बिहानैदेखि महानगरको टोली प्रदर्शनकारीले विभिन्न संरचनामा पुर्‍याएको क्षतिको विवरण संकलन गर्न पुगेको थियो।

‘आज बिहानैदेखि प्राविधिक टोलीसहित तीनकुने क्षेत्रमा गएर क्षतिको विवरण संकलन गरेको छ। टोलीले महानगरलाई रिपोर्ट बुझाइसकेको छ,’ सचिवालयका ती सदस्यले नेपालखबरसँग भने, ‘हामीले महानगरको जति पनि सम्पत्ति छ, त्यसमा कति क्षति भएको हो, संकलन गरेका छौँ।’

अहिलेसम्म दश लाख हाराहारीको क्षति भएको देखिएको तर अन्तिम विवरण तयार नभइसकेकोले केही थपघट हुन सक्ने ती सदस्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad