राजनीति


राजावादीको प्रतिरोध गर्ने ६ युवा संगठनको चेतावनी

राजावादीको प्रतिरोध गर्ने ६ युवा संगठनको चेतावनी

नेपालखबर
चैत १५, २०८१ शुक्रबार २२:२, काठमाडौँ

विभिन्न ६ राजनीतिक दलका युवा संगठनहरूले राजावादी गतिविधि कायम रहे प्रतिकार गर्ने चेतावनी दिएका छन्।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी सत्ता तथा प्रतिपक्षी दलका युवा संगठनहरूले ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ’ कडा प्रतिरोध गर्ने चेतावनी दिएका हुन्।

नेपाल तरुणदल, राष्ट्रिय युवा संघ नेपाल, योङ कम्युनिष्ट नेपाल, युवा संघ नेपाल, युवा संगठन नेपाल र नेपाल समाजवादी युवा संघले संयुक्त विज्ञप्ति प्रकाशित गरी ‘काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी लगायतका क्षेत्रमा, पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा अराजकपन्थी दुर्गा प्रसाईं र रविन्द्र मिश्रहरुको नेतृत्वको अराजक झुण्डहरूले’ उदण्डता, अराजकता र हिंसा गरेका आरोप लगाएका छन्।

‘देश शान्ति र समृद्धीको दिशातर्फ गइरहेको वर्तमान सन्दर्भमा प्रतिगमनका नाममा मुलुकलाई उल्टो बाटोतर्फ लैजानेगरी अपराधिक तवरले गरिएको सार्वजनिक सम्पति, सवारी साधन, सञ्चार गृह तोडफोट एवं सुपर मार्केटमा लुटपाट मच्चाएर समाजलाई आतंक सिर्जना गरेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले बलिदानपूर्ण संघर्षबाट प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनैपनि गतिविधिलाई लोकतन्त्रका हिमायति युवा शक्तिले कदापि स्वीकार गर्न सक्दैनन्। हामी गणतन्त्रका लागि लड्ने राजनीतिक दलका युवा संगठनहरु स्पष्ट रूपमा चेतावनी दिन चाहन्छौँ कि, संविधान र लोकतान्त्रिक मूल्यमान्यता विपरीत गरिने कुनै पनि गतिविधि अस्वीकार्य र अक्षम्य हुनेछ।’

६ युवा संगठनले संविधान विपरीतका गतिविधि गर्ने, समाजमा विखण्डन ल्याउने, हिंसा भड्काउने तथा गणतन्त्र विरोधी षड्यन्त्र गर्ने कुनैपनि समूह वा व्यक्तिलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन समेत माग गरेका छन्।

साथै लोकतान्त्रिक प्रणालीलाई अझै सम्बृद्ध गर्न, कमीकमजोरी सच्याउने खबरदारी गर्न, सामाजिक स्थायित्व र समृद्धिका लागी व्यवस्था विरुद्ध हुने यस्ता अपराधजन्य कार्यप्रति सचेत रहन जनतासित आह्वान गरिएको छ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र कुनै पनि प्रतिगामी शक्तिको षड्यन्त्रबाट ढल्ने छैन’ उनीहरूले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सशक्त रूपमा संस्थागत गर्न हामी निरन्तर कार्य गरिरहने प्रतिबद्धता व्यक्त गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad