राजनीति


पूर्वराजा पक्षधरको अराजकता अक्षम्यः रास्वपा

‘हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्न नसक्ने गृहमन्त्री पनि जिम्मेवार’
पूर्वराजा पक्षधरको अराजकता अक्षम्यः रास्वपा

फाइल तस्बिर


नेपालखबर
चैत १५, २०८१ शुक्रबार २१:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वराजा पक्षधरको अराजकता अक्षम्य रहेको भन्दै भर्त्सना गरेको छ।

शुक्रबार साँझ पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले एक विज्ञप्ति जारी गरी आजको घटना भड्काउने र जनधनको क्षति गराउनेहरूलाई हदैसम्मको कारबाहीको माग पनि गरेका छन्।

‘शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार मात्र हैन, लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि पनि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहे तापनि यस्तो आधारभूत मान्यताबाट पर गई आज पूर्वराजा पक्षधरहरूबाट भएको अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट तथा आगजनीजस्ता अक्षम्य गतिविधिहरुको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्दछ। आजको घटना भड्काउने र जनधनको क्षति गराउनेहरूलाई हदैसम्मको कारबाहीको माग गर्दै आगामी दिनमा आन्दोलनरत पक्षलाई जिम्मेवार एवं शान्तिपूर्णरुपमा प्रस्तुत हुन सचेत गराउँछौं।’

आजको आन्दोलन अराजक हुन सक्ने पूर्वसूचनाहरूका बाबजुद सरकार र गृह प्रशासन कत्ति पनि चिन्तित र तयार नरहेको घटनाक्रमहरुले देखाएको विज्ञप्तिमा उल्लेख छ।

‘आमजनताको सम्पत्तिको सुरक्षा गर्नु, संयमता अपनाई हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्नु सरकारको दायित्व हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘विषम परिस्थितिमा सरकारको असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवारी गृह मन्त्रीले नै लिनपर्छ भन्ने हाम्रो ठहर हो।’

राजावादी समूहले भक्तपुरतर्फ गइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रयोग गरेको सरकारी गाडी समेत बालकुमारीमा जलाइदिएको घटनाको पनि रास्वपाले निन्दा गरेको छ।

स्थानीय प्रशासनद्वारा जारी सूचनाअनुसार आ-आफ्नो स्थानमा सुरक्षित र अनुशासित रहन पनि रास्वपाले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad