राजनीति


नेविसंघकै दुई प्यानल बन्दा रोकियो त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन

नेविसंघकै दुई प्यानल बन्दा रोकियो त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन

दीपक जोशी र अनुज कार्की


नेपालखबर
चैत ६, २०८१ बुधबार १५:४४, काठमाडौँ

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवादका कारण त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया रोकिएको छ।  

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र अर्का नेता विष्णुबहादुर बडैलाले छुट्टाछुट्टै प्यानल खडा गरेपछि विवाद भएको हो‍। 

शेर्पाले दीपक जोशीलाई अध्यक्षको उम्मेदवार बनाएर प्यानल बनाएका छन् भने बडैलाले अनुज कार्की नेतृत्वमा प्यानल खडा गरेका छन्।  

निर्वाचन नियमावलीमा दाबी विरोधात्मक क्रममा केन्द्रले जसको नाम पठाउँछ उही आधिकारिक हुने व्यवस्था छ। यसअनुसार नेविसंघका अध्यक्षसमेत रहेका शेर्पाले खडा गरेको जोशी प्यानल आधिकारिक भनेर निर्वाचन समितिसमक्ष पुगेको छ। 

यसमा असहमति जनाउँदै बडैला पक्षले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। आज बुधबार उक्त रिटमाथि सुनुवाइ हुँदा अन्तरिम आदेश जारी भएको हो। अदालतले छलफलका लागि दुवै पक्षलाई भोलि ७ गते बोलाएको छ।  

यसअघि चैत ५ गतेका लागि निर्वाचन मिति तय भएको थियो। यो देशैभरका क्याम्पसका लागि तय भएको मिति हो। यही तालिकाअनुसार अधिकांश क्याम्पसमा निर्वाचन सम्पन्न भएर मतपरिणाम आउनेक्रममा छ। 

तर, त्रिवि केन्द्रीय क्याम्पसमा निर्वाचन समितिले नयाँ मिति चैत ८ गतेलाई तोकेको थियो। नेविसंघका अध्यक्ष शेर्मा पार्टीमा महामन्त्री गगनकुमार थापानिकट मानिन्छन्। उनी नेविसंघको अध्यक्ष हुने बेलामा भने पार्टी सभापति शेरबहादुर देउवा गुटसँग निकट भएका थिए।  

त्रिविमा छुट्टै उम्मेदवार खडा गरेका बडैला पार्टी सभापति देउवा समूहनिकटका नेता हुन्। 

यता नेविसंघका अध्यक्ष शेर्पाले त्रिवि केन्द्रीय क्याम्पसमा आफू नेतृत्वको नेविसंघबाट एउटामात्रै उम्मेदवार हुने बताए। 

'नेविसंघबाट आधिकारिक उम्मेदवार एउटामात्रै हुन्छ। छलफल जारी छ। अनुज कार्कीसँग पनि छलफल भइरहेको छ,' शेर्पाले नेपालखबरसँग भने,'नेविसंघलाई जिताउने गरी हामीले तयारी गरिरहेका छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad