प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारको आगामी आर्थिक वर्षको बजेटले गरिबलाई छुन नसकेको टिप्पणी गरेको छ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले उक्त टिप्पणी गरेकी हुन्।
उनले बजेटमा निमुखा वर्गलाई माथि उकास्ने, उनीहरूको चुल्होमा सधैँ आगो बल्ने, अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव खडकिएको पनि बताइन्। उपनेता अर्यालले सरकारको बजेटले गरिबलाई झनै गरिब बनाउने र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाइन्।
उनले भनिन्,‘२० प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि रहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाईकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ? जगलाई कमजोर राखेर तला थप्ने कुरा कत्तिको वैज्ञानिक हो? यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन्माथि लैजाने नीति लिएको देखिन्छ त्यसैले यो हुनेखाने र हुँदा खानेबीचको वर्गीय खाडल झन् फराकिलो बनाउने बजेट हो।’
उपनेता अर्यालले सरकारले लिएको मध्यम वर्गलाई उकास्न पनि बजेटले गरिव वर्गको उत्थानमा केन्द्रित हुनुपर्ने तथ्य पनि स्मरण गराइन्।
Shares

प्रतिक्रिया