राजनीति


ऊर्जामन्त्री खड्काको घोषणा : अब साँझमा लोडसेडिङ हुँदैछ

ऊर्जामन्त्री खड्काको घोषणा : अब साँझमा लोडसेडिङ हुँदैछ

नेपालखबर
चैत ६, २०८१ बुधबार १६:०, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझमा लोडसेडिङ हुने बताएका छन्। बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अब लोडसेडिङ रोक्न नसक्ने बताएका हुन्। 

'अहिले पनि ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ। हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ,' उनले भने।

भारतबाट विद्युत आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको मन्त्री खड्काको भनाइ छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपालको नायक नभएको दाबी गरे।  

'त्यसो भएको हुनाले निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ। उज्यालोको नायक भनेको उहाँ (कुलमान) होइन है,' उनले थपे, 'बरु यो धन्यवाद भारतलाई र निजी क्षेत्रलाई दिऊँ।'

कुलमानले उद्योगको लाइन काटेर घरमा बिजुली दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप पनि मन्त्री खड्काले लगाए। 

उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे। उनले अहिले पनि ८३० मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति धानिरहेको बताए। 

‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ। २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ। आज पनि विद्युत आपुर्ति हुन सकेको छैन। हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,' उनले भने, 'हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ।' 

नेपाल विद्युत प्राधिकरण नाफामा गएको भनेर झुक्याइएको उनको दाबी छ। उनले प्राधिकरण नाफामा गएको कुरामा सत्यता नभएको पनि बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad