नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सुवालले बिलबिना उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएको कारण अनिवार्य बिल दिनुपर्ने व्यवस्था गर्नसमेत माग गरेका हुन्।
उनले मुलुकमा सन्तुलित विकास नहुँदा गाउँको बस्ती प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहको बताए।
‘बिनाबिल उपभोत्ता अदालतमा उजुरी दिन नपाइने हुँदा अनिवार्य बिल लिने दिने व्यवस्थामा सरकारको पहल हुनु जरुरी छ। उपभोक्ताको मुद्दा सरकारले सित्तैमा लडिदिनु आवश्यक छ,' उनले भने, 'गाउँगाउँमा सडक पुग्यो, हातहातमा मोबाइल तर सन्तुलित विकास नहुँदा गाउँका बस्ति प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहेको छ। नेपालमा मोबाइल मर्मत हुने हुदैँन। जिल्लाभित्र मात्रै बसाइँसराइ हुन पाउने कानुन बनाएर देशको सन्तुलित विकास गर्न र मोबाइललगायत उपकरण नेपालमै निर्माण गर्नका लागि नयाँ पुस्तालाई शिक्षा प्रदान गर्न जरुरी छ।'
जनता प्रतिनिधि एवं सरकारका अधिकारीहरू आ-आफ्नो जिल्लामा बसेर देशको सन्तुलित विकासमा टेवा पुगाउन जरुरी रहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया