बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले रोजगारी सिर्जनाका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेश हस्तकला संघको पाँचौँ वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले बहुउद्देश्यीय उद्योगमार्फत एउटै उद्योगबाट हजारौँलाई रोजगारी सिर्जना गर्न सकिने भएकाले उद्योग ग्राम स्थापना गर्नुपर्नेमा बताए।
उनले सरकारी कार्यालयहरुमा डिजिटल प्रविधिमा काम गर्दा धेरैले गर्ने काम एउटै व्यक्तिले गर्न सकिने भएकाले रोजगारीको संख्या घटेको बताए। काठमाडौं उपत्यकामा विभिन्न संस्कार र संस्कृतिसँग जोडिएर सञ्चालित उद्योगहरुले रोजगारी सिर्जना गरेको उनको भनाइ छ।
उनले पुरातन तरिकाबाट पारिबारिक रुपमा सञ्चालित उद्योगको पुस्तान्तरण समस्या देखिएको स्पष्ट पारे।
मुख्यमन्त्री लामाले हातबाट बनेका संस्कार र संस्कृतिसँग जोडिएकाले महँगो भएपनि प्रयोग गर्ने चलन भएकाले यस्ता उद्योगहरूले राम्रो अवसर पाएको दाबी गरे।
उनले भने, ‘उपत्यकामा एउटै परिवारले जुन किसिमका कलाहरु संस्कृतिसँग जोडिएका बाउबाजेले जसरी गर्दै आयो छोरा नातिले पनि त्यसरी नै गर्दै आएर बचेको हो। तर अहिले पुस्तान्तरण गर्न गाह्रो परिरहेको छ। काठमाडौं उपत्यकाको भक्तपुर र पाटनमा हस्तकलाको बढी प्राथमिकता छ। हातले बनेका चिजहरु धेरै महँगो र त्यो लगाउने चलन छ। विदेशीहरुले हस्तकलाको उद्योगलाई प्रिभिलेज दिएको छ।’
मुख्यमन्त्री लामाले भारतलगायत विभिन्न देशमा एउटै उद्योगबाट लाखौँको संख्यामा रोजगारी सिर्जना गरेको बताए। उनले नेपालको बजेटमा धेरै कार्यक्रम समावेश गर्दा समस्या देखिएको बताए। उनले सञ्चालित उद्योगलाई सरकारले अवसर प्रदान गर्नुपर्ने तथा उद्यमीले संरक्षण गर्नुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया