राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघीय सांसद दीपक बहादुर सिंहले देशलाई निकास दिन राजाको विकल्प नभएको बताएका छन्।
आज (शनिबार) हेटौँडामा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशनलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार विकास समितिका सभापति समेत रहेका सिंहले गणतन्त्रको नाममा राजनीतिक दलहरूको कारण देश दयनीय अवस्थामा पुगेको भन्दै राजाले एकपटक जनताको साथ मागेको बताए।
नेताहरूले देश छिमेकी मुलुकलाई बेचेर सकाउन लागेको प्रति राजाले चिन्ता व्यक्त गरेको सिंहको भनाइ छ। राजाले सबै नागरिकसँग एक पटकको लागि साथ मागेको सिंहले बताए।
अवस्था र व्यवस्था परिवर्तन गर्न सबैले पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानलाई साथ दिन पनि उनले उनले आग्रह गरे। सांसद् सिंहले सबै जात र धर्मलाई संरक्षण गर्नको लागि राजसंस्था बाहेक अर्को विकल्प नभएको दाबी गर्दै सबै नागरिकले एकपटक राजसंस्था फर्काउन साथ दिनुपर्ने बताए।
नेताहरूले पैसाको लागि जस्तोसुकै कदम उठाउन पछि नहटेको सांसद सिंहको आरोप थियो।
तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले धर्म नाश गर्नका लागि र राजसंस्था कमजोर बनाउन विदेशीसँग चलखेल गरेको आरोप पनि लगाए।
ललिता निवास, गिरी बन्धु टी स्टेट देखि देशका संरचनाहरू बेचेर खाएको आरोप लगाउँदै उनले भने, ‘देशको सम्पत्ति अपचलन गरेर अस्तव्यस्त बनाइदिए। गुठीका जग्गा, मठ मन्दिर, ललिता निवास देखि सम्पूर्ण सरकारी सम्पत्ति ध्वस्त बनाइदिए।’
सोही कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव निराजन बम पतालाले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएका थिए।
सयौँ बैंक लुटिएको, देश आतंङ्क र अशान्त बनाएको, १७ हजार मानिसको मुत्यु र लाखौँ जनताको दुःखको कारण नै प्रचण्ड भएको भन्दै उनले विरोध गर्दै तस्बिर जलाएको बताएका थिए।
Shares

प्रतिक्रिया