नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले सुरु गरेको विकल्पको राजनीतिले कुनै पार्टी वा विचारलाई निषेध गर्ने उद्देश्य नरहेको स्पष्ट पारेका छन्।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले बुधवार काठमाडौँमा आयोजना गरेको ‘नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टीको वैकल्पिक राजनीतिमा मुद्दा र विचार मिल्ने दलहरुलाई रुपान्तरण गरेरे अघि बढ्ने बताए।
पूर्वप्रधानमन्त्री भट्टराईले युगको आवश्यकता अनुसार विचारसहितको वैकल्पिक राजनीति सुरु गरेको दाबी गरे। वर्तमान दलहरुले मुलुकलाई अगाडि बढाउन नसक्ने भन्दै उनले नयाँ विचार र नयाँ युगलाई मार्ग प्रशस्त गर्नुपर्ने जिकिर गरे।
उनले नयाँ शक्ति पार्टी कुनै दलको विचार वा आस्थाको विरुद्धमा नभइ नयाँ युगको माग भएको दाबी गरे।
उनले भने, ‘उदारवादी लोकतन्त्रले स्वतन्त्रता त दियो तर पूँजीवादी अर्थतन्त्रले बजार अर्थतन्त्रले केही मान्छे धनी त बनायो तर असमानता ल्यायो भनेर पुष्पालालहरूले अर्को धार ल्याए। हामी त्यसको सम्मान गर्छौं तर अहिले त्यतिले पुगेन अब नयाँ युगको नयाँ आवश्यकता अनुसार नयाँ विचार, नयाँ नीति र कार्यक्रमसहितको नयाँ वैकल्पिक शक्ति चाहियो भनेर हामीले शुरु गरेको हो कसैलाई गाली वा निशेध गर्ने ढंगले हामी आएको होइन।’
उनले थपे, ‘युगको आवश्यकताले हामीले ल्याएको हो, हामी अगाडि जानु पर्छ र सम्भव भएसम्म उहाँहरु (सबै दलहरू) लाई पनि रुपान्तरण गरेर लिएर जाने हाम्रो प्रयत्न हुन्छ, मुद्दा मिल्ने विषयमा हामी सहकार्य गर्छौं। तर उहाँहरु (अरु दलहरु) बाट मात्र पर्याप्त छैन भन्ने हाम्रो बुझाइ हो। हामीले कसैको पनि विरुद्धमा नयाँ शक्ति ल्याएको होइन। तपाईको युग र समय सकियो अब नयाँ विचार र नयाँ युगलाई ठाउँ छोड्नुस् भन्ने हाम्रो आग्रह हो।’
अध्यक्ष भट्टराईले पुँजीवाद र उद्योग धन्दाको विकास नभएसम्म देशमा उन्नत लोकतान्त्रिक प्रणाली नआउने भन्दै उद्यमशिलतालाई जोड दिनुपर्ने बताए। अर्थतन्त्रको नीति अनुसार सामन्तवाद भन्दा पुँजीवाद प्रगतिशील भएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया