राजनीति


गोकर्ण विष्टको आरोप : प्रचण्डका अभिव्यक्तिले पूर्वराजा हौसिए

गोकर्ण विष्टको आरोप : प्रचण्डका अभिव्यक्तिले पूर्वराजा हौसिए

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०८१ मंगलबार १७:२, काठमाडौँ

 नेकपा (एमाले)का सचिव तथा सांसद गोकर्ण विष्टले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति सहयोगी बनिरहेको गम्भीर आरोप लगाएका छन्।   

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले प्रचण्डको अभिव्यक्तिले प्रतिगामी शक्तिलाई मलजल गरेको बताएका हुन्।

'संविधानको मर्म र भावनालाई आत्मसात् गर्नुपर्ने पार्टीको जिम्मेवार नेताको हैसियतले देशव्यापी रूपमा वितृष्णा, निराशा, अराजकता पैदा गर्ने गरी अभिव्यक्ति दिइरहनुभएको छ।प्रतिगामी शक्तिलाई प्रोत्साहित मलजल गर्नेगरी दिइरहनुभएको छ,' उनले भने। 

उनले प्रचण्डका गतिविधि पनि सहयोगी बनेको हुनसक्ने आशंका व्यक्त गरे। 'कतै आज पूर्वराजाको जुन प्रकारको हौसला छ यसका पछाडि यही प्रकारका गतिविधि पनि घुमाएर सहयोगी त बनिरहेका छैनन्। आज हामीले गम्भीरतासाथ समीक्षा गर्नुपर्नेछ,' उनले भने। 

विष्टले सत्ता र प्रतिपक्षमा रहँदा द्वेध चरित्र देखिएको बताए। उनले प्रचण्डले तीनपटक प्रधानमन्त्री बन्दाको जस र अपजस लिनुपर्ने बताए। यही सरकारका कारण निराशा पैदा भएको भनिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाए।

'संविधानको मर्मलाई सम्मान गर्नेगरी जनतामा आशा जगाउने गरी ठिक ढंगले भूमिका निर्वाह गर्न जरुरी छ,' उनले भने। विष्टले सरकारको ड्राइभिङ सिटमा बिचौलिया बसेको छ भन्ने प्रचण्डको आरोपप्रति नै कटाक्ष गरे। 

'यतिबेला सरकारको ड्राइभिङ सिटमा बिचौलिया बसिरहेको छ भनेर अत्यन्त अमर्यादित शब्द प्रयोग गर्नुभयो। जिम्मेवार नेताको हैसियतले यसप्रकारको अभिव्यक्ति दिनु स्वाभाविक थिएन,' उनी भन्छन्, 'पटक–पटक बिचौलियाको कुरा गर्दा सर्पले सर्पको खुट्टा देख्छ भनेजस्तै उहाँले बिचौलियालाई नजिकबाट चिन्नुभएकाले सन्दर्भ त उठाउनुभएको होइन ?'  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad