राजनीति


परापूर्व कालका प्रोफेसरलाई ऋषि भनिन्थ्यो, चतराका ऋषि भगवानलाई पढाउँथे : प्रधानमन्त्री ओली

परापूर्व कालका प्रोफेसरलाई ऋषि भनिन्थ्यो, चतराका ऋषि भगवानलाई पढाउँथे : प्रधानमन्त्री ओली

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १५:१, विराटनगर

प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले भगवानहरुलाई पढाउने ऋषि गुरुहरू भएको स्थल कोसी भएको बताएका छन्। 

त्यसबेला प्रोफेसरलाई ऋषि भनिन्थ्यो, त्यो बेलाका ऋषिमुनीहरूले परापूर्व कालमा भगवानलाई पढाउने गरेको कथ्य सुनाए। पूर्वाञ्चल विश्वविद्यालयको १३ औ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले यो क्षेत्र भनेको ज्ञानको केन्द्र र गौरवको रहेको उल्लेख गरे।

परापूर्व काल (त्रेता युग) मा राम, सिता, दशरथ र शिवको युगको त्यो बेलादेखि नै यो ठाउँ शिक्षा दिक्षाकोलागि असाध्यै उर्वर ठाउँ भएको बताए।  

‘यही चतरामा विश्वामित्रका पुत्र सुश्रुतले शल्यक्रियाको विकास गरी उहाँ काशी जानु भएको थियो, उनले भने, विश्वामित्रले कोसी तरेर राम र लक्ष्मणलाई शिक्षा दिन जानु भएको थियो।’

ओलीले चतरा ऋषि मुनीहरूले भगवनाहरूलाई शिक्षा दीक्षा दिने गरेको ठाउँको रूपमा विकास गरेको बताएका छन्।

परापूर्व कालदेखि नै शिक्षामा अगाडी रहेको यस क्षेत्रमा पूर्वाञ्चल विश्वविद्यालयको स्थापनासँगै विद्यार्थीलाई देशभक्त हुने, देशको सेवा गर्न, सुयोग्य नागरिक बन्न प्रेरित गरेको बताए। उनले हिजोको गोठै गोठ भएको गाउँ अहिले विश्वविद्यालयको रूपमा चिनिएकोमा सबै खुसी हुनु पर्ने बताए।

‘हिजोको गोठ गाउँ आज विश्वविद्यालय बनेको छ भनेँ यो विकास नभएर के भएको हो त?’, उनले भने, ‘प्रगति भएको छ, बाटो लगायतका धेरै प्रगति भएको छ, हामी प्रगति गर्न सक्छौँ, सबै देश विकासमा लागौँ।’

यस विश्वविद्यालयले छोटो अवधिमा धेरै प्रगति गरेको उल्लेख गर्दै ओलीले आजैदेखि कृषि स्कुल अफ एग्रिकल्चर र हेल्थ एन्ड साइन्स सुरु भएको बताए। उनले अब विश्वविद्यालयले छिट्टै मेडिकल कलेज सञ्चालन गरेर काम थाल्ने दाबी गरे।  

उनले आफू सरकारको प्रमुख पनि भएका कारणले विश्वविद्यालयको उन्नति प्रगतीको लागि सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाए।  

उनले बढ्दो प्रविधिको विकाससँगै नागरिकलाई च्याट जिपीटि र एआईले सजिलो बनाएको उल्लेख गरे।

‘हामी छिटो दुनियाँमा छौँ’, उनले भने, ‘अबको हाम्रो शिक्षा सरल, सहज र ईनोभेटिभ क्यारेक्टरको मानव मस्तिष्कलाई बनाउनु पर्छ।’

उनले विद्यार्थीलाई पाठमा मात्रै केन्द्रित नभई ज्ञानको तत्त्व घुसाउन लाग्नुपर्नेमा प्रोफेसर लाग्नु पर्ने बताए।

उनले विद्यार्थीलाई पलायन नहुन आग्रह गर्दै यो काम म गर्न सक्छु, देश बनाउन सक्छु, पलायन हुने हैन भन्ने भावनाका साथ लाग्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad