नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रको विकल्प अरु केही हुन नसक्ने बताएका छन्। कांग्रेस सुदूरपश्चिमको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले लोकतान्त्रिक व्यवस्थाभित्र रहेर जनताको अवस्था सुधार गर्ने बताए।
‘लोकतान्त्रिक व्यस्थाभित्र सबैको विकल्प छ, दलको विकल्प छ, नेताको विकल्प छ, तर लोकतान्त्रिक गणतन्त्रको विकल्प नेपालले खोज्दैन,’ उनले भने, ‘यहीँभित्रको राजनीतिक आर्थिक अधिकार प्रयोग गरेर नागरिकले खोजेका आकांक्षा पूरा गर्छौँ।’
महामन्त्री थापाले अहिलेको व्यवस्था नचाहनेहरू आगोमा रोटी सेक्नतर्फ लागेको बताए।
‘अहिलेको व्यवस्था कहिल्यै पनि नचाहेकाहरू अहिले रोटी सेक्नेतर्फ लागेका छन्,’ उनले भने, ‘तर, नेपाली कांग्रेस त्यसतर्फ नलागेर आमनागरिकमा देखिएको आक्रोशको आगो निभाउनेतर्फ लाग्नेछ।’
व्यवस्था बदल्न साथ दिएका आमनागरिकमा अवस्था परिवर्तन नहुँदा असन्तुष्टि बढेको महामन्त्री थापाले बताए।
त्यो अवस्था कांग्रेसको नेतृत्वमा बनेको संविधानकै अधिनमा रहेर बदल्ने उनको दाबी थियो। सरकारमा रहेकाहरू र पार्टीका नेताहरूको गति र मति ठिक भए त्यसबाट आउने उत्साहले आक्रोशको आगोलाई मार्दै जाने बताएका छन्।
नागरिकहरूमा अहिले आक्रोश रहेको र त्यसैलाई देखाएर केहीले रोटी सेक्ने काम गरेको उनको भनाइ छ।
‘नागरिकहरूले केबल संशय व्यक्त गरेका हुन्। उनीहरू डेलिभरी खोजिरहेका छन्, काम र परिणाम खोजिरहेका छन्। यसका निम्ति नेतृत्व गर्नेहरूको मति ठिक हुनुपर्छ र गति ठिक हुनुपर्छ,’ उनले भने, ‘हामीले सबै जिम्मेवारी पाइसकेका छौं, अब दिनुपर्ने मात्रै छ।’
डेलिभरीको मति र गति ठिक राख्यो भने त्यसबाट आउने उत्साहले आक्रोशको आगोलाई मार्दै जाने महामन्त्री थापाले बताए।
‘छेउमा बसेर कसैले घिउ खन्याउन खोजे पनि जसले रोटी सेक्न खोजे पनि त्यो कर्म त्यही तुहिएर जान्छ,’ उनले भने, ‘हामीले जिम्मेवारी पाएका छौं, काम गरेर देखाउनुपर्छ।’
नेपाली कांग्रेसले लोकतान्त्रिक व्यवस्थाको विकल्प नखोज्ने पनि थापाले बताए।
‘अहिले एमालेको नेतृत्वमा सरकार छ,’ उनले भने, ‘केही समयपछि कांग्रेस सभापतिको नेतृत्वमा सरकार बन्छ। त्यो अवसरलाई प्रयोग गरेर नागरिकका वाचा पूरा गर्नतर्फ लाग्नुपर्छ।’
Shares

प्रतिक्रिया