गण्डकी


विजय कृष्णमूर्तिलाई कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्यो पोखरा महानगर

विजय कृष्णमूर्तिलाई कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्यो पोखरा महानगर

नेपालखबर
फागुन २६, २०८१ सोमबार १८:१२, पोखरा

अन्ततः पोखरा महानगरपालिका विजय कृष्णमूर्ति भनिने विजय भण्डारीको नेतृत्वमा रहेको मानव सेवा फाउण्डेसनको आयोजनामा हुने कोटीहोम संचालन गर्न नदिने निर्णयबाट पछि हटेको छ।

पोखरा महानगरपालिकामा सोमबार भएको कोटीहोम सञ्चालक, सरोकारवाला, प्रशासन, राजनीतिक दलसहितको बैठकपछि लेकसाइडको बाराही घाटमा कोटीहोम नगर्ने र वैकल्पिक ठाउँमा आयोजना गर्न दिने गरी सहमति जुटेका हो।

यो सहमतिपछि वैकल्पिक स्थानको खोजी गरिने र कोटीहोम सञ्चालनको लागि अनुमति दिने सहमति भएको महानगरका प्रवक्ता मोती तिम्सिनाले जानकारी दिए। सोमबारको यो निर्णयलाई महानगरको मंगलबार बस्ने कार्यपालिकाको ४३ औँ बैठकले निर्णय गर्ने र वैकल्पिक स्थाप पनि प्रदान गर्ने उनको भनाइ छ।

पोखराको लेकसाइडमा आगामी वैशाखको १७ देखि जेठ २६ गतेसम्म  आयोजना हुने श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञका लागि आवश्यक पर्ने समिदा भन्दै पोखराका चौताराहरू काटिएपछि महानगर र आयोजक मानव सेवा फाउण्डेसनबीच विवावद भएको थियो।

चौतारा काटिएपछि महानगरको माघ २० गतेको कार्यपालिका बैठकले कोटीहोम आयोजना गर्न नदिने निर्णय गरेको थियो। जबकि, यसअघि नै आयोजक संस्थाले बाराही घाटमा नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गा भाडामा लिइसकेका थिए।

पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, पोखरासँगै पोखरा महानगरको वडा नम्बर ६  बाट पनि स्वीकृति लिएर महायज्ञ गर्न लागेका कृष्णमूर्ति त्यो निर्णयविरुद्ध  अदालत पुगेका थिए। अदातलले महानगरलाई कोटीहोम नरोक्न आदेश दिएपछि कृष्णमूर्ति हौसिए। 

यता पोखरा महानगरले अदालतको अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन हाल्यो। त्यसमा पनि अदालतले अर्को आदेश दिएन बरु यो मुद्दालाई अग्राधिकार प्रदान गर्‍यो। त्यसपछि शुक्रबार कृष्णमूर्तिको टोलीले बाराहीघाटमा भूमिपूजन कार्यक्रम आयोजना गर्‍यो।

भूमिपूजन रोक्न पुगेको नगरप्रहरी र आयोजकबीच भिडन्त भएको थियो भने दुबैतर्फका ११ जना घाइते भएका थिए। विवाद बढ्दै गएपछि कोटीहोम आयोजक र महानगरबीच मध्यमार्गी बाटो खोज्ने क्रममा सोमबार यो सहमति जुटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad