राजनीति


सबैभन्दा धनी पार्टी एमालेले काठमाडौँ महानगरलाई अझै तिरेन एक लाख जरिवाना

सबैभन्दा धनी पार्टी एमालेले काठमाडौँ महानगरलाई अझै तिरेन एक लाख जरिवाना

मंसिर ७ गते भएको एमालेको कार्यक्रममा अध्यक्ष केपी ओलीसहितका नेताहरू।


नेपालखबर
फागुन २६, २०८१ सोमबार १४:५५, काठमाडौँ

गत मंसिर ७ गते शुक्रबार सत्तारुढ दल नेकपा एमालेको जागरणसभा सुरु गरेको थियो। काठमाडौँको दरबारमार्गमा भव्य कार्यक्रम गरेर सुरु भएको उक्त सभा निकै आलोचित बन्यो। 
दरबार क्षेत्रमा कार्यक्रम गर्दा फोहोर गरेको भन्दै सोही दिन काठमाडौँ महानगरपालिकाले एक लाख जरिवाना लगाएको पत्र काट्यो। यसको जानकारी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत पनि गराए।   

त्यति बेला महानगरद्वारा एमाले पार्टी कार्यालयलाई लेखेको पत्रमा भनिएको छ-मंसिर ७ गते काठमाडौं महागरपालिका वडा नम्बर १, दरबारमार्गको खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको छ।

एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार जागरणसभा भएको हो।

तर, एमालेले अहिलेसम्म पनि उक्त जरिवाना तिरेको छैन। 

'महानगरपालिकाले दुईपटकसम्म जरिवाना पत्र लिएर एमालेको केन्द्रीय कार्यालयमा प्रतिनिधि पठाएको थियो,' काठमाडौँ महानगरपालिकाका प्रमुखको सञ्चार सहयोगी सुरेन्द्र बजगाईंले नेपालखबरसँग भने।

उनका अनुसार एमालेले पत्र बुझ्न नमानेपछि इमेलमार्फत पनि जरिवाना पत्र पठाइएको छ। त्यस्तै हुलाकमार्फत पनि पत्र पठाइएको उनको भनाइ छ। 

'पत्र बुझ्न नमानेपछि इमेलबाट पनि पठाइयो,हुलाकबाट पनि पठाइयो,' उनले भने, 'तर अझै एमालेले जरिवाना भने बुझाएको छैन।'

आइतबार पनि काठमाडौँ विमानस्थल क्षेत्रमा पूर्वराजाको स्वागतमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजावादी समर्थकले फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवाना तिरायो। राप्रपाले भने आज सोमबार उक्त जरिवानाबापतको रकम दाखिला भइसकेको जनाएको छ।   

के भन्छ एमाले?
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख  राजेन्द्र गौतमले भने यसबारे पार्टी कार्यालय सचिवालयले हेर्ने भएकोले केही जानकारी नभएको भन्दै पन्छिए।

'यसबारे पार्टी कार्यालय सचिवालयलाई थाहा हुन्छ,' उनले भने, 'हाम्रो क्षेत्राधिकारमा परेन।'

एमाले सबैभन्दा धनी दल
एक लाख रुपैयाँ जरिवाना नतिर्ने एमाले सबैभन्दा धनी राजनीतिक पार्टी पनि हो। निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण हेर्दा अन्य दलहरूको तुलनामा एमाले सबैभन्दा धनी देखिएको हो। एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार आम्दानी गरेको छ। 

आयोगकाअनुसार उएमाले ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ भने करिव ७ करोड बचत गरेको छ। यस हिसाबले एमालेले यो वर्ष ६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो।

एमालेले आर्थिक वर्ष २०८०/८१ मा कार्यकर्ताहरूबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad