राजनीति


देशमा तेस्रो जनआन्दोलन आवश्यक भइसक्यो : प्रभु शाह

देशमा तेस्रो जनआन्दोलन आवश्यक भइसक्यो : प्रभु शाह

नेपालखबर
फागुन २४, २०८१ शनिबार २१:२६, काठमाडौँ

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले अहिलेको दलतन्त्र नेताहरूको लुटतन्त्रमा परिणत भएको जिकिर गर्दै त्यस विरुद्धमा तेस्रो जनआन्दोलनको आवश्यक रहेको बताएका छन्।  जनताको सर्वोच्चता सहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलन गर्नुपर्ने उनको भनाइ छ। 

११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज काठमाडौँको अनामनगरमा आयोजित आजपा निकटको आम महिला मोर्चा बागमती प्रदेशको प्रथम प्रदेश भेलालाई सम्बोधन गर्दै अहिले दलाल दलतन्त्रका कारण गणतन्त्रको विरोध भइरहेको बताए। जनताको लोकतन्त्रका लागि अब निर्णायक आन्दोलनको विकल्प नभएको उनको भनाइ छ। 

‘गणतन्त्र, लोकतन्त्रको नाममा नेताहरूले लुट मचाएका छन्। राज्यको ढुकुटी सिध्याइसकेको सरकारले हरेक नेपालीको टाउकोमा विदेशी ऋणको भार बोकाउने काम गरेको छ। यस्तो सरकारको विरोधमा नागरिक सडकमा आउनुको विकल्प छैन’, साहले भने, ‘जनताको सर्वोच्चता सहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलनमा सहभागी हुन म सबैमा आह्वान गर्छु। अब जनताले नै हो लोकतन्त्र जोगाउने, अरू कसैले सक्दैन।’ 

२४ चैतमा आजपाले काठमाडौँमा  दलतन्त्र, भ्रष्टाचार, कुशासन, अनियमितता, सरकारको मनोमानी कर विरुद्ध बृहत प्रदर्शन र जनसभा गर्न लागेको समेत उनले बताए। 

आम महिला मोर्चा बागमती प्रदेशका इन्चार्ज देवकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, महासचिव त्रिभुवन साह अमर, उपमहासचिव धनकुमारी मगर, सचिव देवी पण्डित, सचिव नारायण पाण्डे, स्थायी कमिटीका सदस्यहरू श्रीभगवान पटेल, आर्या पाण्डे, देवेन्द्र ठाकुर, उपेन्द्र साह, प्रदेश अध्यक्ष रुपेश थपलिया, आजपाका नेताहरू डा.हेमप्रसाद साह, सीमा जैसवाल, मिनादेवी साह, फुलबदन देवी, अनिता थापा, रेखा साह, अर्चना ठाकुर, मनिष राई लगायतको सहभागिता रहेको थियो। 

सम्पन्न सो भेलाबाट अनिता थापाको अध्यक्षतामा ५१ सदस्यीय महिला मोर्चाको बागमती प्रदेश कमिटी समेत गठन भएको छ। कमिटीको उपाध्यक्षमा रिंकु साह, शोभा तामाङ, मिना तामाङ, सचिवमा अस्मिता लामा, कोषाध्यक्षमा कुन्ती थापा रहेको महिला मोर्चाले जनाएको छ। 

यसैगरी कुन्ती थापामगरको अध्यक्षतामा आम ट्रेड युनियन फेडरेशन नेपालको महिला विभाग समेत घोषणा गरिएको ट्रेड युनियनका इन्चार्ज धनकुमारी मगरले बताइन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad