राजनीति


नेपाल बार चुनाव: कांग्रेस–एमाले गठबन्धनले बनायो आधिकारिक उम्मेदवारको सूची, असन्तुष्टि कायमै

नेपाल बार चुनाव: कांग्रेस–एमाले गठबन्धनले बनायो आधिकारिक उम्मेदवारको सूची, असन्तुष्टि कायमै

नेपालखबर
फागुन २४, २०८१ शनिबार १०:१७, काठमाडौँ

सत्तामा गठबन्धन गरिरहेका प्रमुख राजनीतिक शक्तिहरू नेपाली कांग्रेस र नेकपा एमालेनिकट संगठनबीच नेपाल बार एसोसिएसनमा पनि गठबन्धन भएको छ।

कांग्रेसनिकट डेकोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) बीच गठबन्धन हुँदा पनि केही पदमा दोहोरो उम्मेदवारी परेको थियो। खासगरी डीएलएभित्र केही नेताविशेषको हालीमुहाली भएको भन्दै असन्तुष्ट कानुन व्यवसायीले आफूखुसी उम्मेदवारी दिएपछि उनीहरूलाई मिलाउन हम्मे परेको थियो।

अध्यक्षमा डीएलएबाट वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र र महासचिवमा पीपीएलएबाट केदार कोइराला सर्वसम्मत उम्मेदवार बने पनि अन्य पदहरूमा धेरै आकांक्षी हुँदा दुवै समूहमा विवाद र असन्तुष्टि चुलिएको थियो। खासगरी डीएलएमा यस्तो असन्तुष्टि उम्मेदवारीसम्मै देखिएको थियो।

डीएलएमा निवर्तमान बार अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वमहासचिव खम्मबहादुर खाती र डीएलएकी पूर्वमहासचिव लक्ष्मी दाहाल रावलले पार्टीको नाम लिएर आफ्नै मनमौजी तरिकाले निकस्थ व्यक्तिहरूलाई टिकट दिएको असन्तुष्टहरूको आरोप थियो। कतिपय पेसामा नरहेका, पार्टी राजनीतिमा बढी सक्रिय भएका र स्थानीय चुनावमा पराजित भएकालाई बारमा टिकट दिएको पनि पाइएको थियो। यसले डीएलएको टिकट वितरण बढी विवादित बनेको थियो।

‘डीएलए कार्यसमितिले चयन गरेका होइनन्, पार्टीको नाम लिएर केही नेताहरूले आफ्ना मान्छेलाई झ्यालबाट छिराए,’ असन्तुष्टमध्येका एक उम्मेदवारले भने, ‘आधिकारिक उम्मेदवार तय गर्ने हो भने कार्यसमितिमा छलफल हुनुपर्छ। मापदण्डका आधारमा टुंगो लगाउनुपर्छ। संस्थागत परिपाटी लत्याएर केही व्यक्तिले बन्द कोठामा बनाएको सूची मानिँदैन।’

त्यस्तै एमाले पक्षधर समूहले १३ सिट पाउँदा कार्यसमितिमा अध्यक्ष अल्पमतमा पर्न सक्ने भनेर पनि डीएलएमा प्रश्न उठाइएको थियो। एमालेको बहुमत रोक्न एउटा सिट राप्रपालाई दिएर सन्तुलन मिलाइएको छ।

असन्तुष्ट एवं बागी उम्मेदवारलाई सम्बन्धित संगठनले मिलाउने गरी दुवै संगठनका नेताहरू बसेर आधिकारिक उम्मेदवारको प्यानल तयार गरिएको छ। दुई संगठनबीच भएको समझदारी अनुसार दोहोरो उम्मेदवारी परेका स्थानबाट असन्तुष्ट तथा बागीलाई आइतबार मनोनयन फिर्ता लिन लगाइनेछ।

हाल तय गरिएको आधिकारिक उम्मेदवारको सूचीअनुसार, अध्यक्षमा वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र छन् भने महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला छन्।

यस्तै, उपाध्यक्षहरूमा कोसीबाट अधिवक्ता पदमप्रसाद लिम्बु, मधेसबाट अधिवक्ता अजयशंकर झा, बागमतीबाट अधिवक्ता तेजबहादुर रावल, गण्डकीबाट अधिवक्ता भुपेन्द्र खनालको उम्मेदवारीले आधिकारिक पाएको छ। यस्तै, लुम्बिनीमा अधिवक्ता कृष्णप्रसाद पोखरेल, कर्णालीमा अधिवक्ता जगदीश बम, सुदूरपश्चिममा अधिवक्ता सिद्धराज ओझा र महिला उपाध्यक्षमा अधिवक्ता सरस्वती श्रेष्ठ सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार बनेका छन्।

कोषाध्यक्षमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की, सदस्य (दलित) मा अधिवक्ता चिरञ्जीवी तिल्क्यानी, सदस्य (मधेसी/मुस्लिम, उपत्यकाबाहिर) मा अधिवक्ता सूर्यकुमार यादव र सदस्य (मधेसी/मुस्लिम, खुल्ला) अधिवक्ता रिंकुकुमारी यादव आधिकारिक उम्मेदवार कायम भएका छन्।

सत्ता गठबन्धनले सदस्यमा (आदिवासी जनजाति, उपत्यकाबाहिर) अधिवक्ता राजकुमार श्रेष्ठ, आदिवासी जनजातिमा अधिवक्ता मंगलसुन्दर शिल्पकार, महिला (उपत्यका बाहिर) मा अधिवक्ता इन्दिरा आचार्य र महिला (खुला) सदस्यमा अधिवक्ता रन्जिता कार्कीलाई आधिकारिक उम्मेदवार भनेको छ।

यस्तै सदस्य (खुला, उपत्यकाबाहिर) किरण पौडेल, सदस्य (खुलातर्फ) शारदा गुरुङ, किरण न्यौपाने, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा मुकुन्द अधिकारी र माधव मैनालीलाई डीएलए-पीपीएलए गठबन्धनले आधिकारिक उम्मेदवारको सूचीमा राखेको छ।

नेपाल बार एसोसिएसनको २५ सदस्यीय कार्यसमिति चयन गर्न चैत २३ गते मतदान हुँदै छ।

कांग्रेस-एमाले गठबन्धनका विरूद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपालगायतले बेग्लै गठबन्धन बनाएका छन्। विपक्षी गठबन्धनको अध्यक्षमा माओवादीनिकट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र महासचिवमा रास्वपानिकट यज्ञमणि न्यौपाने उम्मेदवार छन्। एकीकृत समाजवादीले केही उपाध्यक्ष र सदस्यमा चित्त बुझाएको छ। 

हेर्नुहोस् सत्तापक्षीय गठबन्धनका आधिकारिक उम्मेदवारको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad