राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले संसद्मा पेस भएका अध्यादेश पारित गर्ने नियतले राजनीतिक दलसम्बन्धी विधेयक ल्याउन लागेको आरोप लगाएका छन्। खनालले केही राजनीतिक दललाई निशाना बनाएरै यो विधेयक ल्याउन खोजेको आरोप लगाए।
उनले प्रतिनिधिसभामा सरकारको बहुमत भए पनि राष्ट्रियसभामा विधेयक पास गराउन नसक्ने अवस्था भएपछि दल विभाजनको विधेयक ल्याउन लागेको आरोप लगाएका हुन्।
सांसद खनालले दल फुटाउने नियतले सरकारले विधेयक ल्याउन लागेको हो भने संसद्मा प्रतिरोध गर्ने चेतावनी दिए। साना दल फुटाएर शासन गर्ने मनसायले विधेयक ल्याउनु दुर्भाग्यपूण चिन्तन भएको उनको भनाइ छ।
'अहिलेसम्म हेर्दा प्रतिनिधिसभामा सरकार दुई तिहाइको नजिक भए पनि राष्ट्रिय सभाबाट अध्यादेश पारित हुन नसक्ने देखिएको छ,' उनले भने, 'त्यसका लागि केही राजनीतिक दलहरुलाई टार्गेट गरेर नै आएको र मुलरुपमा आफूले प्रश्ताव गरेको अध्यादेश पारित गराउने नियत देखिन्छ।’
एमाले प्रमुख सचेतक महेश बर्तौलाले कुनै दललाई निशाना बनाएर विधेयक नआउने दाबी गरे। त्यस्तै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि राजनीतिक दलसम्बन्धी ऐनमा रिक्त विषय परिपूर्ति गर्न विधेयक ल्याउन लागिएको र दल विभाजनको उद्देश्य नभएको दाबी गरे।
Shares

प्रतिक्रिया