राजनीति


ऐन-कानुन बनाउँदा सरकारले दुई तिहाइको दम्भ देखाउनुहुँदैन : एनपी साउद

ऐन-कानुन बनाउँदा सरकारले दुई तिहाइको दम्भ देखाउनुहुँदैन : एनपी साउद

नेपालखबर
फागुन १७, २०८१ शनिबार १७:३५, काठमाडौँ

नेपाली कांग्रेसका नेता एनपी साउदले सरकारले ऐन-कानुन बनाउँदा दुई तिहाइको दम्भ देखाउन नहुने बताएका छन्। 

नेपाल भूतपूर्व सैनिक संघ, गण्डकी प्रदेशको शनिबार पोखरामा आयोजित प्रथम अधिवेशनको उद्घाटन समारोहमा उनले दुई तिहाइको दम्भ देखाएर सरकारले सुरक्षा निकायजस्ता संस्थाहरूसँग सम्बन्धित ऐन–कानुन बनाउनु नहुने बताएका हुन्।

‘सुरक्षा निकाय जस्तो गम्भीर विषयसँग सम्बन्धित विधेयकहरू दुईतिहाइको सरकारले ल्याउँदा सयभन्दा बढी सांसदहरूले संशोधन हालिसकेका छन्,' नेता साउदले भने, ‘सरकारले ल्याएको जुन विधेयकमा सांसदहरूको क्‍विक प्रतिक्रिया भएको छ। सुरक्षा निकाय जस्ता संस्थाहरूका बारेमा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन।’ 

सुरक्षा निकायमा ‘चेन अफ कमान्ड’ कमजोर हुने गरी निजमति प्रशासनमा अधिकार राख्ने विषयले सुरक्षा निकायमा पर्न सक्ने दूरगामी असरका बारेमा गम्भीर छलफल हुनुपर्ने उनको भनाइ छ।  

‘यस्तो बेलामा सरकार संवेदनशील हुनुपर्छ। यसले मुलुकको बाह्य सुरक्षा र आन्तरिक सुरक्षा पनि प्रभावित गर्न सक्ने भएको हुनाले चेन अफ कमान्ड कमजोर हुने गरेर निजमति प्रशासनमा अधिकार राख्ने कुराले सुरक्षा निकायहरूमा दूरगामी रुपमा के असर पर्ने हो भन्ने कुरामा गम्भीर छलफल, बहस हुन जरुरी छ,’ उनले भने। 

नेता साउदले संविधान संशोधनसहितका सात बुँदामा सहमति गरेर कांग्रेस–एमालेको सरकार गठन भएको सात महिना बितिसक्दा पनि संशोधनका लागि पहल नभएको पनि बताए। 

‘अहिलेको सरकार दुईतिहाइको सरकार छ। सात बुँदे सहमति गरेर सरकार गठन भएको हो। सात बुँदेको महत्वपूर्ण बुँदा के हो भने हामी संविधान संशोधन गर्ने भन्ने नै हो,’ उनले भने, ‘संविधान संशोधन गर्ने कुरामा सात–आठ महिना भइसक्यो, कसैले कलमसम्म चलाएको छैन।’ 

साउदले संविधानमै १० वर्षमा पुनरावलोकन गर्ने भनेर उल्लेख गरिएको स्मरण गर्दै  संविधान संशोधनको प्रक्रियामा अगाडि बढ्नुपर्नेमा जोड दिए। 

‘संविधान संशोधनको प्रक्रियालाई पहिले टुंगोमा पुर्‍याएर, त्यसपछि विभिन्न विधेयकहरू ल्याएर ऐनहरू बनाएर संशोधित संविधानअनुसार अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘संविधान संशोधन पछि र ऐन अगाडि आयो भने अहिले पास गरेको ऐनको दफामा भोलि संशोधन भइदियो भने ऐन फेरि पनि पंगु हुने अवस्था छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad