राजनीति


एमालेले भन्यो : आगामी निर्वाचनसम्म कांग्रेससँग सत्ता सहकार्य जारी रहन्छ

एमालेले भन्यो : आगामी निर्वाचनसम्म कांग्रेससँग सत्ता सहकार्य जारी रहन्छ

फाइल तस्बिर


नेपालखबर
फागुन १७, २०८१ शनिबार १५:२३, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताएका छन्।

 नेपाल राष्ट्रिय होटल व्यवसायी सङ्घको प्रथम अधिवेशन आज उद्घाटन गर्दै उनले सरकारको आयु कति होला भन्ने भनेर हल्ला चलाउनेहरू मुलुकमा अस्थिरतामा रम्न चाहनेहरूको सपनामात्र रहेको बताए।

'कहिलेकाहीँ यो सरकारको आयु कहिले होला भनेर हल्ला चलाउने गरिन्छ। एक–एक महिनामा एउटा–एउटा हल्ला चलाउने गरिन्छ, अब सरकारको आयु सकियो भन्ने कुरा गरिन्छ', उनले भने, 'त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपनामात्र हो। त्यो हल्लाले अहिलेको सरकारलाई कुनै प्रकारको प्रभाव पार्दैन।'

महासचिव पोखरेलले सरकारले निश्चित उद्देश्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबीचको सहकार्य निरन्तर रहने बताए। अहिलेको दुई पार्टीको सहकार्य अस्थिरता समाप्त गर्ने रहेको भन्दै उनले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको बताए।

भविष्यमा जनताले मन पराएको पार्टी सरकारमा र अर्को ठूलो पार्टी प्रमुख प्रतिपक्षमा जानुपर्ने उनको भनाइ छ। उनले अहिले ल्याउन थालिएका छवटा अध्यादेश मुलुकको व्यावसायिक वातावरण, सुशासन कायम गर्ने कुरामा केन्द्रित रहेको बताए।

मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भीर रहेको भन्दै महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्नका लागि योजनाबद्ध पहल भइरहेको बताए। सरकारले व्यावसायिक वातावरण बनाउने कुरामा अत्यन्तै गम्भीरतापूर्वक लागेको उल्लेख गर्दै व्यावसायिक वातावरण तयार गर्न कुनै कानुनले व्यवधान खडा गरेको भए त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनको भनाइ थियो।

महासचिव पोखरेलले समग्र अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा बदल्न नसकेको भनाइ रााखे। उनले मुलुक अहिले औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र बलियो भएको भन्दै त्यो राम्रो नभएको सुनाए।

'निर्वाहमुखी अर्थतन्त्र भएको समयमा हुन्थ्यो भने अनौपचारिक अर्थतन्त्र बलियो हुनु नराम्रो थिएन', उनले भने, 'तर आज हामी जुन प्रकारको आर्थिक, सामाजिक ढाँचाभित्र रहेका छौँ। त्यो ढाँचाले औपचारिक अर्थतन्त्र कमजोर हुने र अनौपचारिक अर्थतन्त्र बलियो हुने भन्ने कुरा राम्रो होइन।'

नेपाल लोकतान्त्रिक व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष लीलाप्रसाद ढकालले सरकारले व्यवसायको वातावरण निर्माण बनाउनुपर्नेमा जोड दिए। होटल व्यवसायी सङ्घका अध्यक्ष माधव नेपालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख भइरहेकाले व्यवसायी उत्साही भएको बताए। सङ्घले आजै नयाँ नेतृत्व चयन गर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad