सशस्त्र युद्धदेखि शान्ति प्रक्रिया हुँदै अहिलेसम्म आइपुग्दा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई हाँक दिने नेता अहिलेसम्म देखिएका छैनन्।
पार्टीभित्र प्रचण्डविरुद्धको फरक मत व्यापक रहे पनि त्यसलाई मत्थर पार्दै प्रचण्ड अहिले जनताको माझमा छन्। तराई–मधेस जागरण अभियान लिएर उनी देशदौडाहमा छन्।
यही बीच प्रचण्डका लागि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा संसदीय दल नेताको विवाद टाउको दुखाइको विषय बनेको छ। कयौँपटक मौखिक र लिखित रुपमा दल नेताको विवाद सल्ट्याउन प्रचण्डले दिएको निर्देशन पालन भएको छैन।
अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले दुईतीनपटक लिखित रुपमा खगराज भट्टलाई सुदूरपश्चिम प्रदेश संसदीय दल नेतामा पुनर्स्थापित गर्न निर्देशन दिए पनि कार्यान्वयन नभएको हो।
एक वर्ष बितिसक्दा पनि माओवादीको सुदूरपश्चिम संसदीय दलभित्रको विवाद साम्य हुन सकेको छैन। २०८० माघ १२ गते मानबहादुर धामीको नेतृत्वमा बहुमत सांसद जुटाउँदै खगराज भट्टलाई दल नेताबाट हटाइएको थियो।
निर्देशन कार्यान्वयन नभएपछि प्रचण्डले बुधबार मात्रै पनि सांसदहरुलाई बोलाएर त्यसबारे चासो व्यक्त गरे। सो क्रममा उनले फेरि माओवादी सुदूरपश्चिमका सांसदलाई खगराजलाई दल नेतामा पुनर्स्थापित गर्न निर्देशन दिए।
जागरण अभियानमा आफू कैलाली पुग्नुअघि भट्टलाई दल नेता बनाएर पार्टी एकताबद्ध गर्न अध्यक्षले निर्देशन दिएको सांसदहरुको दाबी छ।
‘पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर पार्टी एकढिक्का बनाएर जानू भनेर निर्देशन दिनुभएको छ,’ भट्टनिकट एक सांसदले भने, ‘पहिले नै परिपत्र भइसकेको विषय अहिलेसम्म किन कार्यान्वयन भएन भनेर प्रश्न गर्नुभयो।’
प्रचण्डको यो निर्देशन पनि कार्यान्वयन हुनेमा आशंका छ। यसअघि प्रचण्डले पहिलोपटक दिएको मौखिक निर्देशन धामीले सिधै कार्यान्वयन गर्न नसकिने अडान राखेका थिए।
असार २०८१ मा प्रचण्डले सांसदहरूसँग छलफल गरेर भट्टलाई सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिए। तर त्यो निर्देशन न त पार्टी समितिले लागू गर्न सक्यो, न त संसदीय दलले नै टे¥यो।
फेरि सबै नेताहरूलाई बालुवाटार बोलाएर प्रचण्डले दलको नेता खगराजलाई बनाउन निर्देशन दिए पनि त्यो पनि लागू भएन। विवाद मिलाउन खगराजलाई दलको नेताभन्दा माथिल्लो वरीयतामा राख्ने निर्णय भयो। तर, बैठकमा भट्ट सहभागी भएनन्।
बुधबारको निर्देशन पनि कार्यान्वय गर्न धामी समूह तयार देखिएको छैन।
‘एक वर्षसम्म उहाँ(खगराज) सुध्रिनुभएको छैन, हामीसँग सम्पर्कमै आउनुहुन्न,’ धामीनिकट एक सांसदले भने, ‘अध्यक्ष कमरेडको निर्देशन कार्यान्वयन गर्नका लागि उहाँले आत्मालोचना गरेर हामीसँग त आउनुप¥यो।’
ती सांसदका अनुसार प्रदेशमै सहमति गरेर समस्या समाधान गर्न भनिएको बताए। प्रक्रियाअनुसार बहुमत सिद्ध गरेर दल नेता बन्नु पर्ने उनले बताए।
‘विधिअनुसार जानुपर्छ। कुनै कोणबाट नसुध्रिएपछि कसरी दल नेता बनाउने?’ उनले भने, ‘हामी प्रदेशमा फेरि छलफल गर्छौं। सम्भवतः सहमतिमा जाँदैनौँ। प्रक्रियाअनुसार बहुमत जुटाउनुपर्छ।’
धामीले दल नेताबाट हट्दा आफ्नो व्यवस्थापनको विषय पनि चर्को गरेर उठाएका छन्। पार्टीले उचित मूल्याङकन गरेर व्यवस्थापन गर्ने प्रचण्डले आश्वासन दिएको नेताहरुको भनाइ छ।
धामी समूहले दल नेता हटाउने प्रक्रियामा नगएर सहमतिबाट जुटाउनु पर्ने भए आफूहरुलाई प्रदेश इन्चार्ज दिनुपर्ने माग पनि राखेका छन्। तर प्रचण्ड यसमा तयार देखिएका छैनन्।
उनीहरुले सुदूरपश्चिम सहइन्चार्ज बिना मगर, पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, लक्ष्मणदत्त जोशी, जगत पार्की लगायत सिनियर नेतामध्ये एक जनालाई इन्चार्ज बनाउनु पर्ने माग गरेका हुन्।
संसदीय दल नेताबाट भट्टलाई हटाउँदा सभामुखबाहेकका १० सांसदमध्ये भट्टको पक्षमा ४ जना सांसद थिए। धामीको पक्षमा ६ सांसद रहेका थिए।
अहिले माओवादी सुदूरपश्चिम संसदीय दलमा खगराज र मानबहादुर समूहमा ५-५ सांसद छन्। खगराजको पक्षमा शिवसिंह ओली, झपट साउद, रमेश धामी, जानकी पौडेल कुँवर छन्।
मानबहादुरको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल छन्। चुनावताका सुदूरपश्चिमको मुख्यमन्त्रीको रुपमा खगराजलाई प्रस्तुत गरिएको थियो। माओवादी सुदूरपश्चिमको इन्चार्ज समेत रहेका उनलाई दल नेताबाट हटाएपछि पाखा पारिएका खगराज अहिले माओवादी सुदूरपश्चिममा हात खाली छन्।
Shares

प्रतिक्रिया