नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको दाबी गरेका छन्।
माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
अब माओवादीले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने र टाढैबाट फरक छन् भनेर चिनिने बनाउनुपर्ने पनि उनको भनाइ थियो।
स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न अब पुरानैको निरन्तरता होइन, नयाँको थालनी गर्ने बेला आएको उल्लेख गर्दै उनले यो रणनीतिक सिफ्ट भएको दाबी पनि गरे।
एकातिर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने र अर्कोतिर विभिन्न अभियानमार्फत जनतालाई अपिल गर्ने पार्टी निर्णय कार्यान्वयन सुरु भएको उल्लेख गर्दै उनले यसको मर्मलाई आत्मसात् गरेर अघि बढ्न आग्रह गरे।
माओवादीले नेतृत्व गरेका कयौं स्थानीय पालिकाले उत्कृष्ट नतिजा दिँदै आएको उल्लेख गर्दै प्रचण्डले स्थानीय विशेषताअनुसारको समाजवादको अभ्यासका लागि अब जनताले फरक महसुस गर्ने कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए।
समुदायसित मिलेर स्थानीय विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्नेमा सबै नेता कार्यकर्ताको समान बुझाइ हुनुपर्ने पनि उनको भनाइ थियो।
पार्टीले समाजवादतर्फको यात्रा सुरु गरेन भने कुनै न कुनै रुपले देश दुर्घटनामा जाने उनको जिकिर थियो।
अब विकास विदेशीको नक्कल गरेर होइन, आफ्नै विशेषतामा आउने पिँढीको भविष्यलाई समेत ध्यान दिएर नेपाली समाजमा अग्रगामी विकल्प दिनुपर्ने दायित्व माओवादीको काँधमा आएको उनले बताए।
उनले १८ महिनाको सरकारको अनुभव र सरकारबाट बाहिरिँदै गर्दा जनतामा गरिएको अपिलले सकारात्मक प्रभाव पर्दै गएको र माओवादीप्रति पुनः आकर्षण फर्कन थालेको दाबी पनि गरे।
सरकारको प्रस्तुति दिन प्रतिदिन कमजोर बन्दै गएको र यसलाई विभिन्न तत्त्वहरूले आफ्नो अनुकूलबाट व्याख्या गर्ने प्रयास गरिरहेको धारणा पनि उनले राखे।
इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरूले पनि आफूअनुकूल व्याख्या गर्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो देशको अग्रगामी विकल्प माओवादी मात्रै हो भन्ने तथ्य व्यवहारबाटै पुष्टि गर्ने बेला आएको कार्यक्रममा बताए।
Shares

प्रतिक्रिया