राजनीति


जङ्गी अड्डामा पृतनापतिहरूको बैठक

जङ्गी अड्डामा पृतनापतिहरूको बैठक

नेपालखबर
फागुन ८, २०८१ बिहिबार २०:५९, काठमाडौँ

नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको सहभागितामा पृतनापति समन्वयात्मक बैठक–२०८१ सुरु भएको छ।

बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा प्रदर्शन भएको दक्षताबाट नेपाली सेना, नेपाली जनताको आस्था र भरोसाको धरोहरको रूपमा स्थापित भएको बताए।

उनले विश्वको बदलिँदो भू–राजनीतिक परिवेश, ध्रुवीकरणले हालको अन्तर्राष्ट्रिय परिवेश तथा विभिन्न स्थानहरूमा चलिरहेको द्वन्द्वहरूले हाम्रो देशमा पनि कुनै न कुनै रूपमा प्रभाव पार्ने बताउँदै जलवायु परिवर्तनबाट सिर्जित चुनौतीहरू, प्रविधि लगायत कृत्रिम बौद्धिकताले निम्त्याउन सक्ने चुनौतीहरूलाई समेत सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधान सेनापति अशोक राज सिग्देलले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औँल्याएका अन्तर्निहित कार्यहरू सम्पादन गर्न नेपाली सेना सदैव प्रतिबद्ध रहेको बताए।

उनले हालको विश्व सुरक्षा परिस्थिति बहु आयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण बन्दै गइरहेको अवस्थामा आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतार चढावले नयाँ प्रकृतिका सुरक्षा चुनौतीहरू सृजना हुने सम्भावना रहेको उल्लेख गरे।

प्रधान सेनापतिले भविष्यका सुरक्षा चुनौतीहरूलाई सामना गर्न विभिन्न रणनीति तथा समन्वय प्रणालीलाई समयानुकूल विश्लेषण गरी प्रभावकारी उपायहरू पहिल्याउन सम्मेलन सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे।

नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने उक्त बैठकको दौरान सहभागीहरूले आआफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, निमित्त रक्षा सचिव एवं रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad