राजनीति


ओडिसा घटनाबारे विपक्षी दल : सरकारको असफल कूटनीतिका कारण नेपाली विद्यार्थीले अपमान सहनुपर्‍यो

ओडिसा घटनाबारे विपक्षी दल : सरकारको असफल कूटनीतिका कारण नेपाली विद्यार्थीले अपमान सहनुपर्‍यो

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १५:७, काठमाडौँ

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सांसदहरूले सदन र सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूको मृतक विद्यार्थी र उनको परिवारलाई न्याय दिन उच्चतरीय राजनीतिक एवं कुटनीतिक वार्ता गर्न माग गरेका छन्। 

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको कूटनीतिक असक्षमताका कारण उक्त विश्वविद्यालयमा असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरेको बताए। उनले मृतक विद्यार्थीको मृत्युप्रति दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीहरूमाथि भएको अमानवीय क्रियाकलापको घोर निन्दा गरे। सिंगो संसदले उक्त घटनालाई गम्भिरतापूर्वक लिनुपर्ने बताए। 

‘भारतको ओडिसा राज्यको एक विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भयो। र त्यसपछि नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै आन्दोलन गर्नुभयो। आन्दोलनका क्रममा त्यहाँबाट अमानवीय व्यवहार गरियो। सिंगै नेपाल र नेपालीमाथि धावा बोलियो,' उनले भने, 'तर सरकारको कूटनीतिक असक्षमताका कारण त्यहाँ अहिले पनि असुरक्षा र अपमानजनक व्यवहार नेपाली विद्यार्थीले सामना गर्नुपरिराखेको छ।'
 

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपालको कूटनीतिक रणनीति कमजोर भएको भन्दै सरकारको आलोचना गरे। उनले नेपालको कूटनीतिक कमजोरीकै कारण विश्वविद्यालयका चौकीदारले समेत नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गरिरहेको बताए। 

‘म ओडिसामा भएको घटना एउटा घटनामात्र नभई यसको प्रवृत्ति र यसको आचरणमा जान चाहन्छु। हाम्रो डिप्लोम्याटिक रणनीति कति कमजोर भयो कि छिमेकी देशको स्कुलको चौकीदारले पनि नेपाली नागरिकलाई सजिलै पिटिदिन पाए,' उनले भने, 'तिम्रो देशको बजेट मेरो युनिभर्सिटीको बजेट जति पनि छैन भनेर हेप्न पाए। हामी दुई तिहाइको दम्भ यो सिंहदरबार र सदनभन्दा बाहिर हाम्रो नागरिकले त केही पनि फिल गर्न पाएको रहेनछ। विदेशमा हाम्रो आत्मसम्मान र सुरक्षा कतै पनि छैन।'

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकारले उक्त घटनाको सत्यतथ्य छानविन गर्न कुटनीति पहल गर्न माग गरे। 

सभाको आकस्मिक समयमा अन्य सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad