राजनीति


हुलाक टिकटमा परम्परागत संस्कृति जगेर्ना गर्नुपर्छ : सञ्‍चारमन्त्री गुरुङ

हुलाक टिकटमा परम्परागत संस्कृति जगेर्ना गर्नुपर्छ : सञ्‍चारमन्त्री गुरुङ

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ


नेपालखबर
फागुन ५, २०८१ सोमबार १६:१६, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन्। 

हुलाक सेवा विभागले सप्ताहव्यापी रुपमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा मन्त्री गुरुङले विभागले आवश्यक परेको खण्डमा ऐतिहासिक विषयवस्तु खोजेर टिकट प्रकाशन बताएका हुन्।  

नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई यसले देशको पहिचान र इतिहासलाई जगेर्ना गर्ने दस्तावेज रहेको बताए। 

समाजका रैथाने मूल्यमान्यता, जीवनशैली, पर्यटनलाई प्रवर्द्धन गर्ने खालका विषयवस्तु समेत हुलाक सेवाले आफैँले पहिचान गरी छाप्नुपर्ने मन्त्री गुरुङको भनाइ छ।  

गुरुङले हुलाक सेवालाई समयसापेक्ष आधुनिकीकरण गर्न मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै जनसेवामुखी भएर हुलाक सेवामा काम गर्न कर्मचारीलाई आग्रह गरे। हुलाकलाई चाहिने बजेट व्यवस्थापन गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ।  
    
कार्यक्रममा मन्त्री गुरुङले नयाँ हुलाक टिकट ‘पञ्चमार्क मुद्रा’ र ‘भित्रीकोट दरबार’ टिकटको आवरणमा टाँचा प्रदान गरे। भगवान् गौतम बुद्धको राजप्रसाद रहेको प्राचीन कपिलवस्तु तिलौराकोटको खोज-अनुसन्धान गरी जमिनबाट उत्खनन गरिएको ऐतिहासिक ‘पञ्चमार्क मुद्रा’ हो। साथै प्यूठान जिल्लास्थित ‘भित्रीकोट दरबार’ नेपाल बाइसे र चौबिसे राज्यमा विभाजित रहेको समयमा चौबिसे राज्यअन्तर्गतको शक्तिशाली राज्य थियो। 

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले हुलाक टिकटको ऐतिहासिक महत्त्व दर्शाउँदै विभागले पुरातात्विक महत्व राख्ने विषयवस्तु खोजेर टिकट बनाउनेतर्फ कार्ययोजना बनाउँदै गरेको बताइन्।  

उनले भनिन्, 'यस्ता कैयौँ रोचक र ऐतिहासिक खोजमूलक विषयवस्तु छन्, जुन टिकटमा समावेश गर्न सकिन्छ। विभाग आफैँ पनि अनुसन्धान गर्ने तयारीमा छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad