प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताले विकासको ढोका खोलेको बताउँदै विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकामा जोड दिएका छन्।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै भगवान् गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिकस्थलहरूले यस प्रदेशलाई विशेष बनाएको उल्लेख गरे।
लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी तोक्ने निर्णय सफलतापूर्वक कार्यान्वयनमा आएको उनको भनाइ थियो।
संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उनले बताए।
हालै निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकका रूपमा व्याख्या गर्नुपर्ने प्रधानमन्त्रीको धारणा थियो।
साथै, सिद्धबाबा सुरूङ मार्गलगायत योजनाहरूले यातायात सहज बनाउने विश्वास व्यक्त गर्दै उनले रामपुर–कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको जानकारी गराए।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्दै मानव–केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
‘यदि मानव जीवन छैन भने विकासको कुनै अर्थ रहँदैन,’ उनले भने।
सिँचाइ आयोजना सफल बनाउँदै कृषि क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने र वातावरण संरक्षणसँगै विकासका कार्यहरू अघि बढ्नुपर्नेमा उनको जोड थियो।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले १ हाजार २०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरू गरेकामा प्रशंसा गरे।
‘यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो। तर केन्द्र सरकारले १ हजार शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न सकेको छैन,’ उनले भने, ‘त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक छ।’
Shares

प्रतिक्रिया