राजनीति


कांग्रेस-एमाले संविधान उल्ट्याउन केन्द्रित छन् : प्रचण्ड

कांग्रेस-एमाले संविधान उल्ट्याउन केन्द्रित छन् : प्रचण्ड

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १६:२३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेको नेतृत्व संविधान संशोधनमा नभई संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको बताएका छन्। 

शुक्रबार माओवादी केन्द्र जिरी नगरपालिकाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस-एमालेको ध्यान संविधान संशोधनमा नभएको बताएका हुन्। ‘एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन्,’प्रचण्डले, ‘महिला, दलित, जनजाति, मधेशी, मुश्लिम, थारु आदि उत्पीडित समुदाय र क्षेत्रले पाएको अधिकार बढी भएको ठानेका छन्, त्यसैले उनीहरू संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन्।’

दुई-दुईपटक संविधान मिचेर संसद विघटन गरेको घटना यसकै उपज रहेको उनले बताए। ‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेण्डाका रूपमा अघि सारिएको थियो तर अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन्,’उनले भने, ‘यसबाट उनीहरू संविधान संशोधनमा इमानदार छैनन् भन्ने देखिन्छ।’

विगतमा संसद विघटन गर्दा लाखौँ जनतालाई सडकमा ल्याएर संघर्ष गरेपछि संविधान मिच्ने प्रयास असफल भएको उनको भनाइ छ।

‘अहिले उनीहरूले चारैतिर घेरा हालेर संविधान च्यात्ने र जनताले पाएको अधिकार खोस्न खोजिरहेका छन् तर हामी भने यसलाई अझै समृद्ध बनाउन र जनताका अधिकार थप्न चाहन्छौँ। प्रतिक्रियावादीहरूको षड्यन्त्रविरुद्ध जनतालाई एकताबद्ध गरेर संविधानको रक्षा र थप अधिकार सुनिश्चित गर्न चाहन्छौँ,’ उनले भने।

अध्यक्ष प्रचण्डले अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताए। यसबाट मात्रै राजनीतिक स्थायित्व कायम हुने सबै वर्ग र समुदायले पनि थप राजनीतिक अधिकार प्राप्त गर्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad