माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनयुद्ध र यसका पाटापक्षका बारेमा देशभित्र र बाहिर विभिन्न कोणबाट छलफल, बहस र टिप्पणी हुनु स्वाभाविक भएको बताएका छन्।
जनयुद्धको ३० औँ वर्षको अवसरमा आज सामाजिक सञ्जालमार्फत् उनले समग्र जनयुद्ध र यसका विभिन्न पाटापक्षका बारेमा देशभित्र र बाहिर विभिन्न कोणबाट अध्ययन, अनुसन्धान, छलफल, बहस र टिप्पणी लामो कालसम्म भई नै रहने पनि बताएका हुन्।
‘समग्र जनयुद्ध र यसको विभिन्न पाटापक्षका बारेमा देशभित्र र बाहिर विभिन्न कोणबाट अध्ययन, अनुसन्धान, छलफल, बहस, टिप्पणी लामो कालसम्म भई नै रहनेछन्। यो स्वाभाविक छ,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर नेपाली समाजका सबै उत्पीडित वर्ग र समुदायमा आफ्नो मुक्तिको निम्ति व्यापक चेतना तथा जागरणको विस्तार र आज संस्थागत भएको ऐतिहासिक परिवर्तन तथा उपलब्धिका निम्ति माओवादी जनयुद्धको नै मुख्य भूमिका छ भन्ने तथ्यलाई कसैले इन्कार गर्न सक्दैन, मिल्दैन।’
उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नेतर्फ अब सबैले ध्यान केन्द्रीत गर्नुपर्नेमा पनि जोड दिएका छन्।
उनले समाजवाद उन्मुख समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र तथा त्यसलाई संस्थागत गरिएको संविधानको रक्षा, राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तार गरी सामाजिक न्यायसहितको समृद्धि हाँसिल गर्दै समाजवादको आधार तयार पार्नुपर्नेमा पनि जोड दिएका छन्।
‘यतिबेला संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न ध्यान केन्द्रित गर्नु पनि त्यत्तिकै आवश्यक छ,’ उनले भनेका छन्, ‘राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षा गर्दै ती कार्यभार पूरा गर्ने ऐतिहासिक नेतृत्वदायी जिम्मेवारी हाम्रो पार्टीको काँधमा छ। त्यसका लागि रुपान्तरण तथा पुनर्गठनको महाअभियान अघि बढाउँदै एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी निर्माण गर्नु आजको आवश्यकता हो।’
उनले पार्टीको क्रान्तिकारीकरण र सुदृढीकरणलाई मुख्य बनाउँदै पार्टी एकता एवं ध्रुविकरण, आवश्यकताअनुसार संयुक्त मोर्चा र कार्यगत एकता गर्दै सरकार, संसद् र सडकका मोर्चामा अघि बढ्नु अनिवार्य रहेकोमा पनि जोड दिएका छन्।

Shares

प्रतिक्रिया