राजनीति


बाबुरामको प्रस्ताव: जुँगाको लडाइँ छाडौँ, फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाऔँ

बाबुरामको प्रस्ताव: जुँगाको लडाइँ छाडौँ, फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाऔँ

फाइल तस्बिर: डा. बाबुराम भट्टराई


नेपालखबर
फागुन १, २०८१ बिहिबार ९:५३, काठमाडौँ

सर्वोच्च अदालतले जनयुद्ध दिवसमा दिने गरिएको सार्वजनिक बिदा बदर गर्दै जनयुद्ध शब्द नै प्रयोग नगर्न सरकारलाई आदेश दिएका बेला  तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र विद्रोहका प्रमुख नेतामध्ये एक डा. बाबुराम भट्टराईले फागुन १ लाई 'जनक्रान्ति दिवस'का रूपमा मनाउन प्रस्ताव गरेका छन्। 

नेकपा माओवादीले २०५२ फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको थियो। यसैले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले २०७९ माघ २९ गते फागुन १ लाई जनयुद्ध दिवस भनी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। 

तर सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय गैरसंवैधानिक, द्वन्द्वपीडितलाई थप पीडा दिने र राष्ट्रिय सहमति पनि नभएको ठहर गर्दै बदर गरिदियो।

तर पनि माओवादीको नेतृत्व रहेका स्थानीय तहका सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा घोषणा गरिरहेका छन्। यसविरुद्ध पनि सर्वोच्चले अर्को आदेश जारी गर्दै जनयुद्ध दिवसका नाममा बिदा नदिन भनेको छ।

यसैबीच हाल नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. भट्टराईले फागुन १ लाई 'जनक्रान्ति दिवस'का रूपमा मनाउन प्रस्ताव गरेका हुन्। 

‘फागुन १ गते। नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) सुरु भएको दिन! संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न सुरु गरेको दिन। त्यो महायज्ञमा अमूल्य ज्यान अर्पण गर्ने महान् सहिदहरू, बेपत्ताजन, घाइते/अपांग योद्धाहरू सबैमा अन्तर्हृदयदेखि उच्च सम्मान’, डा. भट्टराईले लेखेका छन्, ‘शब्दको जुँगाको लडाइँ छोडौँ। फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष 'जनक्रान्ति दिवस'को रूपमा मनाऔँ।’

उनले अगाडि लेखेका छन्, ‘१९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेस विद्रोह, थारु विद्रोह, आदिवासी जनजाति आन्दोलनलगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोडौँ।’  

संविधान सभाबाट २०७२ असोज ३ गते संविधान घोषणालगत्तै बाबुरामले असोज ९ गते माओवादी केन्द्र छाडेर नयाँ पार्टी गठनमा लागेका थिए। यस क्रममा पछिल्लोपटक उनले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गठन गरेका छन्। जसको प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावको मतगणना  जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad